मेचीनगर, २५ असार । पेट्रोलियम पदार्थको अभाव झेलिरहेको नेपालले विद्युतीय गाडीको आयतसँगै ग्राहकको आकर्षण बढ्न थालेको छ ।
चीनले उत्पादन गरेको विद्युतिय गाडी नेपालमा पर्यावरणीय सन्तुलनको हिसावले पेट्रोल–डिजेलको विकल्पको रुपमा लिइएको छ ।
जसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा देखिन थालेको छ । नेपालमा बीवाईडी, किया, महिन्द्रा, हुन्डाई लगायतका विभिन्न कम्पनीका विद्युतीय गाडी बिक्री भइरहेका छन् ।
पछिल्लो ५ वर्षयता, सडकमा फाट्टफुट्ट देखिने विद्युतीय गाडीको संख्या अहिले ह्वातै बढेको छ । नेपालमा विद्युतीय गाडी बिक्री गर्दै आएका कम्पनीहरु पनि विद्युतीय गाडी खरिद गर्न चाहाने ग्राहकको संख्या बढ्दै गएको दावी गर्छन् ।
बीवाईडी एट्टो ३ मा ६० र १०० किलोवाट आवरको ब्लेड ब्याट्री प्रयोग गरिएको छ । डीसी फास्ट चार्जरको सहयोगले यसको ब्याट्रीलाई ५० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।
नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकले विभिन्न मोडलका नयाँ–नयाँ विद्युतीय गाडीहरु नेपालमा भित्राइरहेको छ । कम्पनीले हाल बीवाईडीका ई ६, नयाँ जेनेरेशन ई ६, एम ३ भ्यान र टी ३ कार्गो भ्यान बिक्री गर्दै आएको छ ।
‘नयाँ गाडी सार्वजनिक भएसँगै चासो राख्ने ग्राहक बढेका छन’, बिक्रेता कम्पनीका एक मेनेजरले भने, ‘बैंकको ब्याजदर र फाइनान्सिङ लगायतका समस्याका कारण बुकिङ धेरै बढेको छैन ।’
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीे पनि अहिले विद्युतीय कारमा हुइँकिन थालेकी छन् । माओवादी केन्द्रका नेता वर्षमान पुन, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ लगायतले पनि पेट्रोल–डिजेलको गाडी चढ्न छाडेर विद्युतीय गाडी चढ्न थालेका छन् ।
नेपालको प्राकृतिक विविधता, जलवायू परिवर्तनको असर न्यूनीकरण र यहाँको पर्यटनलाई जिवन्त राख्न पनि युवा पुस्ताले पेट्रोलियम पदार्थको प्रयोग छाडेर विद्युतीय गाडीलाई प्राथमिकता दिनुपर्ने सुझाव विज्ञहरुको छ ।
सो प्रकृतिका गाडीहरु अहिले झापामा पनि छ्याप छ्याप्ती रुपमा कुदिरहेका छन् । काँकरभिट्टाको दिव्यज्वोती आँखा अस्पतालले सञ्चालन गर्दे आएको २०२३ मोडलको प्रदेश नम्बर ०१–०२८ च ३७९० बीवाईडी कम्पनीको ६ सिटे सुविधायुक्त गाडीका चालक राम मगरले पेट्रोल–डिजेलको गाडी भन्दा सस्तो, छिटो, सहज र आरामसँग यात्रा गर्न सकिने बताए ।
सो गाडीमा यात्रा गर्ने एक यात्रुका अनुसार लहानसम्म यात्रा गर्दा सहज भएको छ, भाडा पनि सस्तो रहेछ । पूर्वी नाका काँकरभिट्टाबाट पनि विद्युतीय गाडीहरु धरान, विराटनगर तथा लहानसम्म कुद्ने गरेका छन् ।
यो गाडीको मुल्य ४७ लाख रुपैयाँ रहेको बताइएको छ । झापामा केहि व्यवसायी यो प्रकृतिको विद्युतीय गाडी किन्ने पक्षमा रहेको बुझिएको छ । चालक मगरका अनुसार एकपटक फुल चार्ज गर्दा २०० किलोमिटर सम्म पुग्न सकिनेछ । झापामा चार्जर स्टेशन बिर्तामोड र दमकमा छ ।
१० देखि १५ मिनेटसम्ममा चार्ज गर्दा १०० प्रतिशत चार्ज हुने उनले जानकारी दिए । सो गाडीकोे ब्याट्री, मोटर, कनेक्टेट वेयर, टायर सबै चार्ज हुने बताइएको छ ।
पूर्वपश्चिम राजमार्गको मुख्य शहरहरुमा विद्युतीय गाडीको चार्जर स्टेशन राखिएको छ । तर, पूर्वी भेगको पहाडी क्षेत्रमा भने चार्जर स्टेशनहरु नभएको चालक मगरको भनाई छ ।
Discussion about this post