।। अर्जुन कार्की ।।
मेचीनगर, २ साउन । होटल मेची क्राउन (एचएमसी) बाट निस्किने फोहोर पानीले गाउँ नै दुर्गन्धित बनाएको छ ।
मेचीनगर–८ स्थित एचएमसीबाट बाहिर नाला (पैनी)मा निस्किने फोहोर पानीले गाउँ नै दुर्गन्धित बनाएको हो ।
एचएमसीबाट निस्किने फोहोर पानी मेचीनगर–७ स्थित दक्षिणको कामती टोलसम्म पुग्ने गरेको छ । निन्दा खोलाको पूर्वदेखि होटल अगाडीको मुख्य सडक छेउबाट पूर्वपश्चिम राजमार्ग हुँदै दक्षिणको कामती टोलसम्म पैनीको पानी बग्ने गरेको छ ।
होटलको पूर्वपटि जोरसिमलको पशुपतिनाथ टोल, सशस्त्र प्रहरीको चेकपोष्ट, निर्माण व्यवसायी कार्यालय, स–साना चिया पसल तथा गृल कारखाना र उत्तर र दक्षिण तर्फका गाउँका स्थानीयहरु दुर्गन्धले पीडित बनेका छन् ।
हाम्रो माग सुनुवाई भएन : कार्यवाहक अध्यक्ष खरेल
‘फोहोर पानीको व्यवस्थापन गर्न एचएमसीका सञ्चालक र नगरपालिकामा पटक–पटक भनेका छौँ’, पशुपतिनाथ टोलका कार्यवाहक अध्यक्ष गणेशकुमार खरेलले भने–‘अहिलेसम्म सुनवाई भएको छैन ।’
‘नागरिकको स्वास्थ्यसँग जोडिएको विषय भएकोले यस्तो दुषित पानीले महामारी फैलियो भने त्यसको जिम्मा कस्ले लिन्छ । गर्मीको बेला त झन दुर्गन्धले बसीनसक्नु हुन्छ’,–उनले भने ।
फिल्ट्रेशन गरेर समाधान गर्छु : सञ्चालक सापकोटा
स्थानीय प्रदिप ओली (गोविन्द) ले एचएमसीको अगाडी पटिको नयाँ बिल्डिङ निर्माण कार्य भइरहेका बेला सरकारलाई ईआइआइको रिपोर्ट दिनुपर्ने भएकाले त्यसका सञ्चालक बलराम सापकोटा (वले) ले स्थानीयलाई बोलाएर केहि समस्या छ भने भन्न आग्रह गरेको बताए ।
त्यसैबेला स्थानीयले सञ्चालक सापकोटालाई एचएमसीबाट निस्किने फोहोर पानीले गाउँ नै दुर्गन्ध भएको विषय राखेको ओलीले जानकारी दिए । सञ्चालक सापकोटाले होटलबाट निस्किने फोहोर पानीका बारेमा चाँडै निकास दिने बचन दिएको उनले बताए । सापकोटाले स्थानीयलाई बाहिर दुर्गन्ध नआउँने गरी होटलमा नै फोहोर पानीको फिल्ट्रेशन गर्ने बाचा समेत गरेको ओलीको भनाई छ ।
कामती टोलका स्थानीय किसानहरुले त्यहि पैनीको पानी खेतीपातीमा लगाउने गरेका छन् भने गाई वस्तुहरुलाई समेत बेलाबेला त्यहि पैनीको पानी खुवाउँने गरिएको बताइएको छ ।
हात–खुट्टा चिलाउन थाल्यो : स्थानीय मेचे
जोरसिमलको मेचे गाउँका ६४ वर्षीय स्थानीय रतनलाल मेचे आफ्नो करेसा बारी छेउमा आइपुग्ने सो फोहोर पानीको पैनी देखाउँदै भने–‘पहिला यो पैनीमा पानी सफा आउथ्यो । अहिले एकवर्ष बढी भयो कालो पानी आउँन थालेको छ । खेतीपाती गरेर आएपछि हात खुट्टा धुदा चिलाउन थालेको छ । हात खुट्टा चिलाएर कोतारेको घाउका फोकाहरु देखाउँदै भने गन्हाएर हैरान हुन्छ, मछेड उतिकै लाग्छ । हैजा रमहामारी फैलिने सम्भावना धेरै छ ।’
होटलले फोहोर व्यवस्थापन गर्नु पर्छ : वडाध्यक्षहरु
मेचीनगर–८ का वडाध्यक्ष गिरीराज धमलाले होटलबाट निस्किने फोहोरलाई उचित ठाउँमा व्यवस्थापन गर्नु पर्ने बताए । कसैले पनि सार्वजनिक स्थलमा फोहोर फ्याक्न नहुने उनको सुझाव छ ।
‘होटलले फोहार खोलामा फाल्छन् भन्ने सुनेको छु’, उनले भने–‘जताततै फोहार फाल्न मिल्दैन । सम्बन्धित पक्षले व्यवस्थापन गर्नुपर्छ ।’
‘४÷५ महिनाअघि होटलबाट निस्किने फोहोर रामघाट नजिक नन्दा करिडोरमा राति–राति लुकेर फाल्ने गरेका रहेछन्’, १० नम्बर वडाका वडाध्यक्ष नारायण खनालले भने–‘मैले थाहा पाएपछि फोहोर ट्याक्टरमा हालेर पत्रकार बोलाएर होटल अगाडि फ्याकिदिन्छु भनेपछि त्यतापटि फ्याल्न छाडेका छन् । अहिले कतापटि फाल्छन् थाहा भएन । होटल अगाडिको पैनीबाट फोहोर पानी दक्षिण तिरबाट मेरो खेतमा जाने गरेको छ । जे भएपनि होटलले फोहोर व्यवस्थापन गर्नुपर्छ ।’
मेचीनगर–७ का वडाध्यक्ष प्रलादमणि ओलीले होटलको फोहोर पानीले गाउँ दुर्गन्धित बनाएको गुनासो आएको बताए । ‘होटलले त्यस्तो कार्य बन्द गर्नुपर्छ’, वडाध्यक्ष ओली भने–‘मलाई त्यो विषयमा गुनासो आएको छ । ‘सम्बन्धीत पक्षलले त्यस्को निकास चाँडै दिनुपर्छ ।’
भोलि नै चिठ्ठी काटेर बोलाउँछु : मेयर बुढाथोकी
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी भन्छन्–‘सार्वजनिक स्थलमा प्रदुर्षण गर्नु र गाउँ नै दुर्गन्धित हुने गरी फोहोर फाल्ने छुट कसैलाई छैन । भोलि नै चिठ्ठी काटेर सम्बन्धीत पक्षलाई बोलाउने छु ।’
चाँडै समाधान गछौँ : मेनेजर साह
यस विषयमा सञ्चालक सापकोटालाई फोन सम्पर्क गर्न खोज्दा फोन स्वीचअफ रहेको छ । सो होटलका एनवल मेनेजर धिरज साहका अनुसार समस्या भएको स्वीकारेका छन् । उनले नयाँ बनाउँदै गरेको बिल्डिङमा त्यसको व्यवस्थापनका लागि फिलट्रेशन ट्याङ्की निर्माण भइरहेको बताए । ५÷६ महिनापछि यो समस्या हट्ने उनको दावी छ ।
Discussion about this post