मेचीनगर, १५ साउन । सामुदायिक विद्यालयमा विद्यार्थीलाई दिइने १५ रूपैयाँको खाजा कस्तो हुन्छ ? के खान्छन् विद्यार्थीले ।
विद्यार्थीको स्वास्थ्यप्रति चासो विद्यालयलाई छ कि छैन भन्ने विषयलाई ध्यानमा राखेर रोटरी क्लब अफ काँकरभिट्टाले सामुदायिक विद्यालयमा ५ वर्ष मुनिका बाल बालिकाहरूलाई पोषण सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
आइतबार रोटरीले मेचीनगर–५ स्थित बाल कल्याण माविको परिसरमा ५ वर्ष मुनिका ५० जना भन्दा बढी बालबालिकाहरूलाई पोषण सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
मेची प्रादेशिक अस्पताल भद्रपुरको पोषण विभागको प्राविधिक सहयोगमा सो विद्यालयका बालबालिका र उनीहरुका अभिभावकहरुलाई पोषणयुक्त खानेकुरा कस्तो हुन्छ, यसलाई कसरी खाने र स्वास्थ्य कसरी रहने विषयमा पोषण विभागका प्राविधिकहरुले प्रशिक्षण दिएका थिए ।
विद्यालय परिसरमा नै पोषण विभागका प्राविधिकहरुले पोषणयुक्त सामाग्रीहरु पकाएर बालबालिकाहरूलाई खान दिइएको थियो ।
त्यतिमात्र होइन उनीहरुको वोजन र उचाई अनुसारको खाने कुरा कसरी खाने भन्ने विषयमा समेत जानकारी गराइएको थियो ।
उनीहरुलाई एक–एक पोका पोषणयुक्त खानेकुरा समेत वितरण गरिएको रोटरी काँकरभिट्टाका अध्यक्ष रुद्र मैनालीले जानकारी दिए ।
सरकारले खाजा वापतका लागि दिएको १५ रुपैयाँले विद्यार्थीले जाउँलो, खिर, चाम्रे छोलामुरै लगायत बस्तुहरु खाने गरेका छन् । कुनै–कुनै विद्यालयमा बासी छोलामुरै दिएर बालबालिका विरामी परेका घटनाहरु पनि पाइन्छ ।
‘विद्यार्थीले खाजाका रुपमा जाउँलो, खिर, छोलामुरै खान्छन्’, अध्यक्ष मैनालीले भने–‘त्यसको साटो पोषणयुक्त खानेकुरा खाँदा उत्तम हुन्छ । सामूहिकरुपमा विद्यालयले बालबालिकालाई भटमास, गहुँ, मकै, सर्वोत्तम पिठो लगायतका गेडागुढी मिसनाएर बनाइएको सातु पोषणयुक्त खानेकुरा खुवाए स्वास्थ्यलाई राम्रो हुने थियो ।’
मेचीनगरका सबै सामुदायिक विद्यालयमा बालबालिकाहरुलाई स्वास्थ्यवर्दक पोषणयुक्त खानेकुरा दिनुपर्छ भन्ने हाम्रो अभियान अन्तरगत आजको कार्यक्रम आयोजना गरिएको अध्यक्ष मैनालीले बताए ।
मेचीनगर–५ का वडाध्यक्ष कनक कार्कीको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा रोट्रियनहरु उदयकुमार श्रेष्ठ, दिलिप सुवेदी लगायतले पोषणयुक्त खानेकुराका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा मेची प्रादेशिक अस्पतालका कर्मचारी, रोट्रियनहरु, विद्यालयका शिक्षक–शिक्षका, विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो । रोटरी काँकरभिट्टाका अध्यक्ष रुद्र मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भगिरथ राईले गरेका थिए ।
Discussion about this post