मेचीनगर, १५ साउन । बजारमा अत्यावश्यक सामाग्रीको कालोबजारी हुन नदिन मेचीनगर नगरपालिका ‘एक्सन’मा उत्रिएको छ ।
आइतबार मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी नेतृत्वको टोलीले धुलाबारी बजार क्षेत्रका किराना पसलमा आकस्मिक अनुगमन गरेको हो ।
अनुगमनका क्रममा टोलीले धुलाबारीको पौडेल किराना पसल, मास भेराइटिज स्टोर, दास किराना पसल लगायतमा अनुगमन गर्यो । अनुगमनका क्रममा मूल्यसूची नराखेको, म्याद गुज्रिएका लगायतका सामानहरु भेटिएको थियो ।
मेचीनगर नगरपालिकाले बजार अनुगमन कार्यलाई निरन्तरता दिने जनाएको छ । पहिलो चरण अन्तर्गत व्यवसायीलाई सम्झाइ बुझाइ गरेको र आगामी दिनमा कमजोरी भेटिए तत्काल कारवाही गर्ने नगर प्रमुख बुढाथोकीले बताए ।
अनुगमनमा नगर उपप्रमुख मीना पोखरेल उप्रेती, कृषि शाखा प्रमुख दिपेन्द्र कार्की, वडा नम्बर १० का वडाध्यक्ष नारायण खनाल, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं लगायत प्रहरी प्रशासन सहभागी थिए ।
नगरको अनुगमन टोली आउने सूचना थाहा पाएका केही व्यापारीले सटर बन्द गरेर भागे भने केहीले अनुगमन टोलीलाई जवाफ दिन सकेनन् । भारतीय सीमा नजिक रहेका पसलहरुमा अधिकांश सामानहरु भारतीय नै प्रयोग हुने गरेको जनगुनासो बढिरहेको छ ।
यो आर्थिक वर्षको सुरुमा नै बजार अनुगमन गरेकोमा स्थानीयबासी खुसी भएका छन् । वर्षमा एक दुईचोटी मात्र झारो टार्न गरिने परम्पराको अन्त्य गरेकोमा नगरबासीले प्रसंसा गर्न थालेका हुन् । यो अभियानलाई निरन्तरता दिन स्थानीयको माग छ ।
Discussion about this post