झापा, २२ साउन । गाउँलेको उजुरीका आधारमा जलाउन तयार गरिएको शव कनकाई माईको घाटबाट नै प्रहरीले अनुसन्धानका लागि फिर्ता ल्याएको छ ।
आज इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले दाहसंस्कारका लागि तयार गरिएको ३२ वर्षीया पुजा कोचकारको शव पोष्टमाटमका लागि फिर्ता ल्याएको हो ।
कनकाई–३ का चोपेन्द्र कोचकारको कान्छी श्रीमति पुजाको कुटपिटका कारण मृत्यू भएको हुन सक्ने आशंकाका आधारमा स्थानीय गाउँलेको उजुरीपछि थप अनुसन्धानका लागि प्रहरीले घाबाटै शव ल्याएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
चोपेन्द्र र जेठी श्रीमतिको कुटपिटबाट मृत्यु भएको हुन सक्ने आशंकामा गाउँलेको आग्रहमा पोष्टमार्टमका लागि शव भद्रपुर पठाइएको छ ।
पुजाको उपचारका लागि बिर्तामोड स्थित कञ्चनजंगा अस्पताल पुराइएको थियो । उपचारकै क्रममा कोचकारको मृत्यु भएको बताइएको छ ।
घर निर्माण मजदुरको रुपमा काम गर्दै आएका कोचकारले मादक पदार्थ सेवन गरेर कुटपिट गर्दै आएको बुझिएको छ । पोष्टमाटमको रिपार्ट आएपछि सबै कुरा सार्वजनिक गरिने डीएसपी रिजालको भनाई छ ।
Discussion about this post