झापा, २३ साउन । विवादास्पद अभिव्यक्ति दिएर सामाजिक सद्भाव बिगार्न खोज्ने अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै झापाका तामाङ र मगर समुदायका अगुवाहरुले झापाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल मार्फत उनीहरुले गृहमन्त्री नारायण काजी श्रेष्ठलाई ध्यानाकर्षण गराएका हुन् ।
सोमबार जिल्ला प्रशासन कार्यलय चन्द्रगढी झापा पुगेका तामाङ र मगर समुदायका अगुवाहरुले प्रमुख जिल्ला अधिकारी पोखरेललाई ज्ञापनपत्र बुझाएका थिए ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्यव समितिका अध्यक्ष जगत तामाङ र नेपाल मगर संघका जिल्ला अध्यक्ष विकास थापा मगरले सो ज्ञापनपत्र हस्तनान्तरण गरेका थिए । नेपाल तामाङ घेदुङ जिल्ला समन्यव समितिका सचिव मानबहादुर तामाङले सो ज्ञापनपत्र वाचन गरेका थिए ।
ज्ञापनपत्रमा शान्तिपुर्ण आन्दोलनका क्रममा कानुन विपरीत पक्राउ गरि हिरासतमा लिएर चरम यातना दिने प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्की र अधिवक्ता भगवती पाण्डेलाई तत्काल कारवाही गर्न माग गरिएको छ ।
पक्राउ पुर्जी जारी भएर पनि उन्मुक्ति दिन खोजिएको भन्दै नेपाल तामाङ घेदुङ र नेपाल मगर संघको समन्वयमा गत साउन १७ गते टेकु प्रहरी परिसर काठमाडौंमा आयोजित धर्नामा प्रहरीले अनावश्यक बल प्रयोग गरी तीन दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएको थियो ।
उक्त घटनाको घोर भत्र्सना गर्दै ज्ञापन पत्रमा घाइतेहरुको उपचार गर्न र उचित क्षतिपूर्ती दिन समेत गृहमन्त्री समक्ष माग गरिएको छ ।
ज्ञापनपत्र बुझाएपछि चन्द्रगढीमा कोणसभाको आयोजना गरिएको थियो । कोणसभामा नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य पदमबहादुर तामाङ (देवराज), प्रदेश मुख्यसचिव तिलक पाख्रिन तामाङ, प्रदेश सदस्य जसकुमार तामाङ, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति अध्यक्ष जगत तामाङ, नेपाल मगर संघका जिल्ला अध्यक्ष विकास थापा मगर, नेपाल तामाङ घेदुङ जिल्ला उपाध्यक्ष जसमाया तामाङ, नेपाल तामाङ बिद्यार्थी घेदुङका संघीय सचिव हैकम राज घिसिङ, नेपाल तामाङ घेदुङ भद्रपुर नगर अध्यक्ष बसन्त तामाङ लगायतले सम्बोधन गरेका थिए ।
आन्दोलनरत पक्षले सोमबार झापासहित ७७ वटै जिल्लामा विरोध प्रर्दशन गरेको थियो ।
Discussion about this post