धुलाबारी, ३० साउन । मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाबाट अवैध काठसहित दुईवटा ट्याक्टरसहित तीनजना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचिनगर–१० स्थित निन्दा पुल छेउबाट अवैध काठसहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
आज विहान करिव ७ वजे धुलाबारीको निन्दा पुल छेउमा प्रदेश १–०२–००३ त १८१२ नम्बरको ट्याक्टरमा आँप, कदम, छतिउन लगायत विभिन्न जातको गोलिया काठ ८३ थान (१२६ क्युफिट) अवैधरुपमा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
सो ट्याक्टरलाई शंका लागि चेक गर्ने क्रममा बिल र वडाको आवश्यक कागजातहरु नभेटिएकोले काठ, ट्याक्टर र चालक मेचीनगर–२ बस्ने अन्दाजी वर्ष २३ का तेजबहादुर राईलाई नियन्त्रणमा लिइएको उनल बताए ।
बरामद काठ, ट्याक्टर र चालकलाई आवस्यक कारवाहीका लागि डिभिजन वन कार्यालय चन्द्रगढी बुझाइएको डीएसपी रिजालले बताए ।
त्यसैगरी बुद्धशान्ति गाउँपालिका–६ शान्तिनगर स्थित ज्यामिरे सामुदायिक वनमा काठ चोरी निकासी हुँदैछ भन्ने खवरका आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ मे.१ त.६५३८ नम्बरको ट्याक्टरमा सखुवा जातको गोलिया काठ १६ थान (५८.२२ क्यु फिट) लोड भएको अवस्थामा फेला पारेको थियो ।
ट्याक्टर चालक बुद्धशान्ति गाउँपालिका–४ बस्ने वर्ष २४ का सविन बिश्वकर्मा, सोहि ट्याक्टरमा सवार वर्ष ३६ का धनाहाङ लिम्बू र काठ डिभिजन वन कार्यालय चन्द्रगढीमा बुझाएको प्रहरीले जनाएको छ ।
Discussion about this post