बिर्तामोड, ३० साउन । मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा सुत्केरीको उपचारमा लापरवाही भएपछि चार दिनदेखिको उत्पन्न विवाद आज साँझ समाधान भएको छ ।
सोमबार राति र आज दिउँसो बसेको छलफलले उत्पन्न विवाद सहमति पुगेको हो ।
मनमोहन अस्पताल प्रशासन, जनप्रतिनिधि, पीडित परिवार र प्रहरीबीच भएको छलफलमा एकमुष्ट ३५ लाखमा सहमति भएको सुत्केरी सिर्जना संग्रौलाको परिवारले जानकारी दिएको छ ।
परिवारका अनुसार सृजना मनमोहनको कर्मचारी समेत भएकोले २० लाख राहत र बच्चाको शिक्षा, स्वास्थ्यका लागि १५ लाख गरी जम्मा ३५ लाख अस्पतालले दिने सहमति भएको छ ।
बिर्तासिटी अस्पतालको उपचार खर्च समेत मनमोहन अस्पतालले नै व्यहोर्ने सहमति भएको छ । उपचारमा संलग्न चिकित्सकको टोलीलाई कारवाहीका लागि सिफारिस गर्ने भएको छ ।
प्रसुती गराउन आएकी बिर्तामोड नगरपालिका–१ की २७ वर्षीया सिर्जना संग्रौलाको उपचारका क्रममा भएको लापरवाहीका कारण अवस्था गम्भीर भएको थियो । डाक्टर एकराज गौतमले शल्यक्रिया गरी बच्चा जन्मिसकेपछि सुत्केरीको उपचारमा लापरबाही गरेको परिवारको आरोप छ ।
मनमोहन अस्पतालमा उनको थप उपचार हुन नसकेपछि बिर्तासीटी अस्पताल लगिएको थियो ।
बिर्तासिटी अस्पतालको भेन्टिलेटरमा उपचार हुँदै गर्दा संग्रौलाको अवस्था झन जटिल बनेको परिवारको भनाई छ ।
विर्तासिटी अस्पतालका व्यवस्थापक आनन्द वस्नेतले सुत्केरी सिर्जनाको भेन्टिलेटरमा उपचार भइरहेको बताए । उनका अनुसार अवस्था नाजुक छ, पार लाग्दैन होला तर, चिकित्सकले मृत्यु भएको घोषणा गरेको छैन ।
Discussion about this post