मेचीनगर, ४ भदौ । आइतबार काँकरभिट्टा माविमा अध्ययनरत १३ जना विद्यार्थीहरु दिउँसो एकाएक वेहोस भए ।
विद्यार्थीहरु बेहोस भएको थाहा पाउने वितिकै मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले स्वास्थ्यकर्मीको टोली लिएर विद्यालय पुगे ।
मेयरको टोली विद्यालय पुग्दा विद्यार्थीहरु वेहोस भएर जता ततै लडिरहेका थिए, शिक्षकहरु के गर्ने कसो गर्ने भनेर यता उता भौतारिरहेका देखिन्थे ।
स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाको टोलीले वेहोस भएका विद्यार्थीहरुलाई सामान्य तरिकाले उपचार गरिरहेका थिए । त्यसपछि विद्यार्थीको अवस्था सामान्य रहेको थियो ।
विद्यालयमा केहि विद्यार्थी विरामी भएर लडिरहेका थिए, केहि विद्यार्थी कक्षामा पढिरहेका थिए भने केहि विद्यार्थी घर गइसकेका थिए ।
मेयर बुढाथोकीको टोलीले कक्षामा पढिरहेका विद्यार्थीहरु र विरामी भएकालाई नआत्तिन, आत्मबल दरो पारेर पढ्न सचेतनापूर्वक अनुरोध गरेका थिए ।
केहि विद्यार्थीहरुले विहान खाना नखाएको, चाउमिन खाएर आएको, खालिपेट भएका कारण त्यस्तो भएको हो की भनेर अनुमान गरेका थिए ।
स्वास्थ्य शाखा प्रमुख निरौलाले लगातारको गर्मी र मास हिस्टेरियाको लक्षण देखिएको बताइन् ।
विद्यालयका प्रधानाध्यापक हरि न्यौपानेले ४÷५ दिनदेखि विद्यार्थीहरु एकाएक विरामी पर्न थालेको बताए । ४÷५ दिनअघि कक्षा–७ का २ जना छात्राहरु विरामी भएको उनले बताए । आइतबार सोहि कक्षाका १३ जना छात्राहरु विरामी भएको उनको भनाई छ ।
छात्राहरु कक्षा कोठामा नै चिच्याउने, काम्ने तथा बेहोस हुन थालेकाले पढाईमा केहि समस्या भएको उनले बताए ।
कक्षा कोठाहरुमा माकुराको जालो रहेको, कोठाहरु सफासुघर नगरिएको र शौचालयको दुर्गन्ध सबैतिर फैलिएको विद्यालयको अनुगमनमा आएका मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले बताए ।
Discussion about this post