धरान, ८ भदौ । जिल्ला प्रशासन कार्यालयले धरानमा निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले आजबाट धरानमा निषेधाज्ञा जारी गरेको हो ।
शुक्रवार राति १२ बजेदेखि शनिवार राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढकालका अनुसार धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ ।
उनले धरान प्रवेश गर्ने नाका तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको बताए । ती स्थानबाट प्रदर्शनमा आउनेलाई धरान प्रवेश गर्न दिएको छैन ।
‘हामीले सबै पक्षसँग छलफल गरेका छौं’, एसपी ढकालले भने–‘धरानको आग्रह बाहिरबाट प्रदर्शनमा नआउनुहोस् भन्नेछ । उच्च सुरक्षा सतर्कता अपनाएका छौं ।’
धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन् । जसका कारण साम्प्रदायिक सदभावमा असर पर्न सक्ने भएकाले प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले निकालेको सूचनामा भने डेंगु संक्रमण बढिरहेको र जनस्वास्थ्य आपतकालीन् अवस्था क्षेत्र घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिस गरिएको स्थितिमा सभा सम्मेलन गर्न निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।
Discussion about this post