अर्जुनधारा, १० भदौ । अर्जुनधारा नगरपालिका–५ स्थित विहीबारे बजारका २५ वर्षीय युवा प्रदीप श्रेष्ठको दुबै मिग्रौला खराब भएपछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।
आर्थिक अवस्था नाजुक भएका श्रेष्ठको दुवै मिग्रौला खराव भएपछि अहिले उपचारमा सहयोग गरिदिन श्रेष्ठ परिवारले सवैमा अपिल गरेको हो ।
१७ दिनअघि प्रेसर बढेपछि उनलाई सुनसरीस्थित धरानको विपी कोइराला मेमोरियल विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उनको परिक्षणपछि दुवै मिग्रौला खराव भएको श्रेष्ठको उपचारमा संलग्न डाक्टरले बताएको उनका दाजु नारायण श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठको उपचारमा आर्थिक सहयोगका लागि स्थानीयहरुको भेलाले ‘प्रदीप श्रेष्ठ बचाउ’ अभियान अन्तरगत आर्थिक संकलन समिति निर्माण गरेको छ । समितिको संयोजकमा प्रदीपका दाजु नारायण श्रेष्ठ, सचिवमा डम्बर थापा र कोषाध्यक्षमा शिवकुमार श्रेष्ठ छन् ।
त्यस्तै सदस्यहरुमा अर्जुन रेग्मी, टेकबहादुर गिरी, गीता श्रेष्ठ र टेकबहादुर बस्नेत रहेका छन् । त्यसैगरी ७ सदस्यीय सल्लाहकार समिति समेत निर्माण गरिएको छ ।
हाल प्रदीप काठमाडौंको भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत रहेका छन् । उनलाई मिग्रौला प्रत्यारोपण गर्न उनकै परिवारभित्रका आफ्नै दाजु बिष्णु श्रेष्ठले दिने भएका छन् ।
तर, आर्थिक अवस्था कमजोर भएका कारण प्रत्यारोपणमा लाग्ने खर्चका लागि उनका बुवा मणिकुमार तथा आमा ईन्दिराकुमारी श्रेष्ठले सवैलाई सहयोगको आग्रह गरेका छन् । मिग्रौला प्रत्यारोपणका लागि करिव १० देखि १२ लाख रुपैयाँसम्म खर्च लाग्ने उपचारमा संलग्न डाक्टरले बताएको उनका दाजु नारायणले बताएका छन् ।
त्यस्तै आर्थिक सहयोग जुटाउन निर्माण भएको समितिले शनिवार विहीबारे बजारमा राखेको भेलामा ३७ हजार ६३० रुपैयाँ संकलन गरेको समितिका सदस्य अर्जुन रेग्मीले जानकारी दिए ।
त्यस्तै प्रदीपको आर्थिक अवस्था देखेर नेवाः देय् दबु अर्जुनधारा नगर सममितिले आयोजना गरेको लाखे जात्राबाट संकलन साथै संस्थाले थप गरेर उनको उपचारमा सहयोग गर्न १० हजार रुपैयाँ प्रदान गरेको समितिका कोषाध्यक्ष शिवकुमार श्रेष्ठले बताए ।
प्रदीपको उपचारमा सहयोग गर्न देश तथा बिदेशमा रहेका आफन्त, साथीभाई, विभिन्न सामाजिक संघ–संस्था, स्थानीय सरकार समेतसँग सवैमा उनको परिवारले आर्थिक सहयोगका लागि आग्रह गरेको छ ।
उनको उपचारमा आर्थिक सहयोग गर्ने इच्छुकले अर्जुनधारा–५ स्थित लक्ष्मीपुर चोकमा रहेको प्राइम कर्मसियल बैंकमा उनका दाजु नारायण श्रेष्ठको नाममा रहेको खाता नम्बर १०६००४५६ पिडि(एम) मा सहयोग गर्न सकिनेछ भने मोबाइल नम्बर ९८१४९९८९४१ मा सम्पर्क गरेर पनि सहयोग गर्न सकिनेछ ।
Discussion about this post