भद्रपुर, १० भदौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सावित्रीकुमार काफ्लेले जनताका हरेक दुःख सुखमा साथ दिन कार्यकर्तालाई आग्रह गरेका छन् ।
‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान अन्तर्गत भद्रपुरमा आइतबार आयोजित विस्तारित बैठक अभियान अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता काफ्लेले यस्तो कुरा बताएका हुन् ।
भद्रपुर नगर कमिटीले आयोजना गरेको कार्यक्रममा उनले हरेक दिन जनतासँग जोडिएर जनताकै समस्या समाधान गर्न लागि पर्ने बताए ।
‘हिजोका तीतामिठा कुरा बिर्सिएर अघि बढ्नुको विकल्प छैन,’ काफ्लेले भने–‘अब जनतासँगै जाने, जनताकै कुरा सुनेर आफ्नो धारणा बनाउने समय आइसकेको छ ।’
उनले सुरुमा आफूले आफैलाई बदल्नु पर्ने समय आएको बताए । आफूलाई नबदली दुनियाँ बदल्न नसकिने उनको भनाई छ ।
उनले तीन महिने अभियान तीन चरण सञ्चालन गरिने जानकारी दिए । भदौ १६ गते देशभर एकसाथ अभियानको उद्घाटन, दोस्रोमा रचनात्मक कार्यक्रमहरु सञ्चालन र तेस्रो चरणमा शान्तिपूर्ण सडक आन्दोलनबाट जनताका समस्या समाधान गर्ने योजना रहेको उनले सुनाए ।
कार्यक्रममा माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य डिल्ली घिमिरे (हिक्मत)ले अभियानको केन्द्रीय, प्रदेश र जिल्ला सर्कुलर वाचन गरेर सुनाएका थिए ।
भद्रपुर नगर कमिटी अध्यक्ष शिवकुमार राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी नेताहरु निरु खतिवडा, सञ्चार नेम्वाङ, माधवलाल अर्याल, शिवु बुढाथोकी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन नगर कमिटी सचिव हंशधर राजवंशीले गरेका थिए ।
Discussion about this post