बिर्तामोड, ११ भदौ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले एमसीसी सम्झौता कार्यान्वयनका विरुद्ध विरोध प्रदर्शन गरेको छ ।
ब्याख्यात्मक टिप्पणीका नाममा राष्ट्रघाती एमसिसी सम्झौता संसदबाट अनुमोदन गरेर नेपालको राष्ट्रिय स्वाधीनता माथिको निर्मम प्रहार गरेको र अहिले कार्यान्वयन गर्न खोजेको विरुद्ध प्रदर्शन गरेको हो ।
आइतबार बिर्तामोड स्थित पश्चिम बस स्टेशनबाट जुलुससहित सुरु भएको विरोध प्रदर्शन मुक्ति चौक इलाम स्टेशन हुँदै पुनः मुक्ति चोकमा आएर कोणसभामा परिणत भएको थियोे ।
विरोध सभाको सञ्चालन पार्टीका जिल्ला कार्यालय सचिव सञ्जय सीले गरेका थिए भने नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले सम्बोधन गरेका थिए ।
सभालाई सम्बोधन गर्दै इन्चार्ज सीले सत्ताधारी दलहरूलाई राष्ट्रघाती एमसीसी सम्झौता कुनै हालतमा कार्यान्वयन नगर्न चेतावनी दिए । देशको सीमा अतिक्रमण, संसदीय पुँजीवादी राज्यसत्ताको समस्या भएको भन्दै यो व्यवस्था रहँदासम्म कहिल्यै समाधान नहुने दावी गर्दै वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्या समाधान हुने उनले ठोकुवा गरे ।
एमसीसी विरुद्धको आन्दोलन नेपालको स्वाधीनता रक्षाका लागि भएको बताउदै उनले कुनै पनि हालतमा एमसीसी कार्यान्वयन गर्न नदिने उद्घोष गरे । पछिल्लो समय अमेरिकीहरुकै इशारामा एमसिसी कार्यान्वयन गराउने मौका छोपी धरानमा गाई गोरु काण्ड र प्रदेशको नामको विषयमा जनताको ध्यान केन्द्रीकृत गरेको र जनताले दलालहरुको षड्यन्त्र बुझ्नुपर्ने उनले बताए ।
विरोध सभामा बोल्दै उनले सम्पूर्ण जनता एमसिसीको विरुद्धमा रहेकाले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न र यसको विरुद्ध हरेक जनताले घरघरबाट हतियार लिएर अमेरिकी साम्राज्यवाद विरुद्व निस्कनुपर्ने बताए ।
एमसीसी सम्झौता नेपालको हितविपरित भएको भन्दै यसलाई सिधै खारेज गर्नुपर्ने र एमसीसीमार्फत् नेपाली जनतामाथि अमेरिकी बन्दुक लादिन खोजेको भन्दै आवश्यक परे यसका विरुद्ध बलिदान दिन तयार हुनुपर्ने र आफुहरु त्यसका लागि तयार रहेको बताए ।
कार्यक्रममा राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर !, राष्ट्रघाति दलालहरू होसियार, राष्ट्रिय स्वाधीनताको रक्षा गरौ ! लगायतका नारा लगाईएको थियोे । पछिल्लो समय नेकपाले झापासहित देशभर एमसिसीका विरुद्ध आन्दोलन गरिरहेको छ ।
यहि भदौ १४ गतेदेखि एमसिसी कार्यान्वयनका लागि पहिलो चरणको काम सुरु गर्दै छ ।
Discussion about this post