मेचीनगर, १५ भदौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काँकरभिट्टा बहुमुखी क्याम्पसको आयोजनामा अन्तर क्याम्पस स्तरीय टी–१० क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ ।
आज मेचीनगर–६ स्थित तुर्केनी खेल मैदानमा आयाजित सो प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका निवर्तमान मेयर विमल आचार्यले गरे ।
प्रमुख अतिथि आचार्यले विद्यार्थीहरुको नेतृत्वदायी संस्था स्ववियुले खेलकुदलाई प्राथमिकतामा राखेर यस्तो प्रतियोगिता आयोजना गर्नु प्रशंसनिय रहेको बताए । ‘विद्यार्थी भाइबहिनीहरुलाई धेरै धेरै धन्यवादसहित अझ उन्नतीको कामना छ’, –उनले भने ।
क्याम्पसमा अध्यनरत गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई सहयोग गर्न छात्रवृत्ति (स्ववियु) कोष स्थापना गर्ने उद्देश्यका साथ स्ववियु काँकरभिट्टाले प्रतियोगिताको आयोजना गरेको हो ।
कार्यक्रममा झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेत (सुन्दर), प्रादेशिक क्रिकेट संघ कोशी प्रदेश सदस्य सुरेश गुरागाई, झापा जिल्ला क्रिकेट संघका कोषाध्यक्ष चोलानाथ दाहाल, काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समिति सदस्य हरि तिम्सिना, भगिरथ भण्डारी, पूर्व राष्ट्रिय खेलाडी सनी पुन, राष्ट्रिय खेलाडी अंकित सुवेदी लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिता अन्तर्गत आज दुई खेल सम्पन्न भएका छन् । जसमा मेची क्याम्पस भद्रपुर र दमक बहुमुखी क्याम्पस दमक विजयी भए ।
मेचीले निधि क्याम्पस बिर्तामोडलाई पराजित गर्यो भने दमकले वाल्मिकी लिङकोन बिर्तामोडलाई हराएको झापा जिल्ला क्रिकेट संघका सदस्य समेत रहेका स्ववियु सदस्य योगेन्द्र खड्का (बरदान)ले बताए ।
खेल सुरु हुनु अघि तारापुञ्ज स्काउट दलका विद्यार्थीहरुले मैदानमा मार्चपास प्रस्तुत गरेका थिए । स्ववियु काँकरभिट्टा बहुमुखी क्याम्पसका सभापति विशाल तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत स्ववियु उपसभापति सन्दिप न्यौपानेले र सञ्चालन प्रेनिजा ढकालले गरेकी थिइन् ।
प्रतियोगिता भदौ २६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा जिल्लाभरका १६ क्याम्पसको सहभागिता रहेको छ ।
प्रतियोगिताका विजेता र उपविजेतालाई ५० हजार र ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने खड्काले जानकारी दिए ।
Discussion about this post