मेचीनगर, १८ भदौ । धुलाबारी क्याम्पसले नेपालमै पहिलोपल्ट इन्जिनियरिङ काउन्सिलबाट पठनपाठनको लागि सम्बन्धन पाएको छ
धुलाबारी क्याम्पस इन्जिनियरिङ पठनपाठनको सम्बन्धन पाउने पहिलो सामुदायिक क्याम्पस बनेकाे हाे ।
नेपाल इन्जिनियरिङ काउन्सिलले यही भदौ १५ गते धुलाबारी क्याम्पसलाई इन्जिनियरिङ संकायको पठनपाठन गराउन पाउने लिखित अनुमति (सम्बन्धन पत्र) दिएको छ ।
आज विहान क्याम्पसले पत्रकार सम्मेलन गरेर सम्बन्धन पाएको विषयमा जानकारी दिएको हाे।
देशभरमा ५६३ वटा सामुदायिक क्याम्पस रहेकोमध्ये धुलाबारी क्याम्पसले मात्र इन्जिनियरिङ विषयको स्नातक तह पढाउने अनुमति पाएको क्याम्पस प्रमुख पुष्प पौडेलले बताए ।
‘मेचीनगरबासीका लागि खुशीको विषय हो,’ उनले भने-‘निरन्तरको प्रयासपछि धुलाबारी क्याम्पसलाई नेपाल इन्जिनियरिङ काउन्सिल र पूर्वाञ्चल विश्वविद्यालय दुबैले सिभिल इन्जिनियरिङ संकायकाे चार वर्षे स्नातक तहको पठनपाठन गर्न सम्बन्धन दिइएकाे छ।’

आउँदो असोज ६ गतेभित्र भर्नाका लागि आवेदन लिइने र यसै शैक्षिक सत्रदेखि सिभिल इन्जिनियरिङको स्नातक कक्षा (बीई)को पठनपाठन सुरु गरिने निर्देशक ई. रुद्र मैनालीले जानकारी दिए ।
मैनालीका अनुसार काउन्सिलले धुलाबारी क्याम्पसलाई बीई कक्षाका लागि ४८ सिट दिएको छ । जसमध्ये चार सिटमा क्याम्पसले छात्रवृत्ति प्रदान गर्ने छ ।
मेचीनगर-१० स्थित रघुबीरबाडीमा रहेको धुलाबारी क्याम्पस ७ बिगाहा जग्गामा फैलिएको छ । सहरी भीडभाडभन्दा टाढा, शान्त र सुरक्षित वातावरण भएकाले धुलाबारी क्याम्पसको शैक्षिक वातावरणलाई कोशी प्रदेशकै उत्कृष्ट वातावरण भएको क्याम्पस मानिन्छ ।

धुलावारी क्याम्पसलाई पूर्वाञ्चल विश्वविद्यालयले गत वर्षको चैत १४ गते र नेपाल इन्जिनियरिङ काउन्सिलले यही भदौ १५ गते इन्जिनियरिङ संकाय सञ्चालनका लागि सम्बन्धन प्रदान गरेका हुन् ।
पूर्वाञ्चल विश्वविद्यालयबाट हालसम्म १७ वटा क्याम्पसले इन्जिनियरिङ संकायको अनमुति पाएका छन् ।
धुलाबारी क्याम्पसमा सिभिल इन्जिनियरिङको स्नातक तहको सम्बन्धन ल्याउन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रतिनिधिसभाका सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा माओवादीकी केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य धर्मशिला चापागाईले सहयोग रहेको क्याम्पस प्रमुख पौडेलले बताए ।
धुलाबारी क्याम्पसले ठूलो मिहेनतले सिभिल इन्जिनियरिङ पढाउने अनुमति ल्याएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष भीम खवासले बताए ।




Discussion about this post