मेचीनगर, १९ भदौ । गत तीन महिनादेखि सम्पर्कविहिन पति दुर्गाप्रसाद दाहाल खोजी गरिदिन भन्दै उनकी पत्नी रूदैँ रूदैँ मिडियालाई गुहार मागेकी छिन् ।
आज साँझ मेची सामुदायिक सेवा केन्द्रमा पत्रकार सम्मेलन गरेर ५१ वर्षीय दुर्गाप्रसादकी पत्नी शोभा बुढाथोकी दाहालले ३ महिनादेखि हराइरहेका पति खोजी गरिदिन रूदैँ रूदैँ मिडियामा आएकी हुन् ।
मेचीनगर–६, काँकरभिट्टा स्थित आदर्श टोलका दुर्गाप्रसाद गत चैतदेखि घरबाट कसैलाई केहि नभनी हिडेका थिए । उनी जेठमा फेरि घर आएका थिए ।
जेठ र असार महिनाको बीचतिर परिवारलाई सम्पर्क गर्दा बिर्तामोड, कहिले इटहरीमा छु भन्ने गरेको शोभाले बताइन् । त्यसपछि दुर्गाप्रसाद असार २ गतेदेखि सम्पर्कमा नभएको उनको भनाई छ ।
उनका साथिहरूका अनुसार असार ७ गते पानी ट्याङकीमा भेटेको बताइएको छ । तर अहिलेसम्म सम्पर्क नभएको परिवारको भनाई छ ।
उनीहरूका १८ वर्षीया छोरी र ४ वर्षका छोरा छन् । छोरी कक्षा १२ र छोरा एलकेजीमा पढ्दै छन् ।
शोभाले पत्रकारहरूसँग रूदैँ रूदैँ श्रीमान खोजी गरिदिन हारगुहार गरेकी छन् । उनले पत्रकार सम्मेलन मार्फत यहाँका राजनीतिक दल, समाजसेवी, स्थानीयबासीलाई पतिको खोजीमा सहयोग पुर्याईदिन अनुरोध समेत गरेकी छन् ।
उनका अनुसार दुर्गाप्रसाद कोइला र इटाको कारोवार गर्ने व्यापारी हुन् ।
उनले इलाका प्रहरी कार्यालय काँकरभिट्टामा उजुरी समेत दिएकी छन् । इप्रका काँकरभिट्टाका प्रमुख डीएसपी दिपक भारतीले दुर्गाप्रसाद दाहालको खोजी कार्य भइरहेको बताए । प्रहरीको हेडक्वाटरबाट कल डिटेल संकलन गर्ने कार्य भइरहेको डीएसपी भारतीको भनाई छ ।
नेपाल र भारतमा भएका सबै आफन्तहरुकोमा पनि खोजी गरिसकिएको छ । उनले अहिलेसम्म कतै नभेटिएको चिन्ता व्यक्त गरेकी छन् ।
भिडियो पनि हेर्नुहोला ।
Discussion about this post