मेचीनगर, २७ भदौ । गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजबंशीले राज्यले जनप्रतिनिधिलाई विश्वास नगरेर कर्मचारीहरुलाई मात्र विश्वास गर्ने गरेको बताएकी छन् ।
आज काँकरभिट्टा स्थित हिकोला हेरिटेज होटलमा मार्टिन चौतारीले आयोजना गरेको ‘संघीयता कार्यान्वयनका सात वर्ष : स्थानीय तहका नीति÷कानुन र योजना निर्माणका विविध पक्ष’ विषयक अन्तरक्रियामा अध्यक्ष राजबंशीले सो कुरा बताएकी हुन् ।
उनका अनुसार राज्यले जनप्रतिनिधिलाई चिन्दैन । राज्यले चिन्ने भनेको कर्मचारीलाई मात्र हो ।
‘गौरीगञ्जमा १० वटा ऐन बन्यो’, राजबंशीले भनिन्–‘२७ वटा कार्यविधि बन्यो । यो सबै कर्मचारीले बनाएका हुन् । जनप्रतिनिधिले त्यसमा केहि कुरा थप्न खोज्यो भने त्यो त मिल्दैन भन्ने गर्छन् । स्थानीयको हैन, राज्यको तलव खाएको भन्छन् । उनीहरुले हाम्रो कुरा सुन्दैनन् । केहि मिल्ने विषयमा बाहेक अरुमा कुरा हुँदैन ।’
स्थानीय सरकारले बनाएको कानुन केन्द्रसँग बाझियो भनेर संघिय कानुन स्थानीयमा लाद्न खोजिएको उनको दावी छ ।
‘जनतामा जनप्रतिनिधिको भरोषा र आशा हुन्छ । ऐनमा व्यवहारिक पक्ष समेट्दा कर्मचारीले मान्दैनन् । केह समस्या पर्दा जनप्रतिनिधि मलेप र अख्तियार धाउनु पर्छ । स्थानीय सरकारमा कर्मचारीको हावी छ’, उनले भनिन् ।
Discussion about this post