मेचीनगर, २७ भदौ । मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले जनप्रतिनिधि कर्मचारीहरुको पिंजडामा रहेको बताएका छन् ।
आज काँकरभिट्टा स्थित हिकोला हेरिटेज होटलमा मार्टिन चौतारीले आयोजना गरेको ‘संघीयता कार्यान्वयनका सात वर्ष : स्थानीय तहका नीति÷कानुन र योजना निर्माणका विविध पक्ष’ विषयक अन्तरक्रियामा वडाध्यक्ष कार्कीले कर्मचारीहरुले जनप्रतिनिधिहरुको दाइँ गरिरहेको बताएका हुन् ।
‘कर्मचारीले मेयर, उपमेयरको दोहोलो काटेका छन््’, कार्कीले भने–‘कार्यपालिका वैठकमा कुनै ऐन कानुनका विषयमा छलफल नै हुँदैन । त्यो २० मिनेटमा पारित हुन्छ । सबै ऐन कर्मचारीले बनाउछन् । जनप्रतिनिधि टुलुटुलु हेरेर बस्नुको विकल्प छैन ।’
‘जनताले हलो जोतिराखेका बेला पनि हात र खुट्टाका नङ्ग्रा खियाएर भएर पनि केहि गर्छन् भनेर भोट दिएर जनप्रतिनिधि बनाए । तर, कलमको तोड्कोले समस्या बनायो । २५ वर्ष समाजसेवा गर्दा जति उर्जा थियो अहिले त्यो कर्मचारीहरुले गर्दा निरास बनाएको छ ।’
नगरमा पढे लेखेका कर्मचारी भन्दा पनि चाप्लुसी गरेर कर्मचारी भएका कारण भ्रष्टचार र वेतिथि बढेको उनको दावी छ ।
उनले कलमको निपका कारण जनप्रतिनिधि कर्मचारीको पिंजडामा बस्न बाध्य भएको बताए । यसलाई रोक्न सबै तह–तप्काकका नागरिकहरु एकजुट हुनु पर्ने उनको भनाई छ ।
Discussion about this post