बडादसैंको उल्लासले गाउँ–सहर गुल्जार भएका छन् । यो चाडले खासगरी हिन्दु नेपालीहरुलाई व्यस्त बनाउँछ । टिका, भेटघाट तथा पारिवारिक जमघटले यो पर्वको महत्वलाई अझ सार्थक बनाएको छ । तर, अझै पनि समाजका हरेक नागरिकलाई दसैंको उल्लासले छुन सकेको छैन । खासगरी हुने खाने र हुँदा खाने वर्गवीचको खाडल गहिँरिदो छ । गणतन्त्रमा विभेदको खाडल पुरिने आशा तीव्र छ । तर, अहिलेसम्मको अभ्यासले त्यो आशा पनि व्यर्थ हुन्छ कि भन्ने खतरा छ । नेपालका धेरै ग्रामीण क्षेत्र छन्, जहाँ वर्षभरी जस्तो अभावको पीडाले सधै सताउँने गर्छ ।
अहिले पनि चामल नपाएको पीडा भोगिरहेका नागरिकको पंक्ति पश्चिम पहाडमा ठूलो छ । तर, सहरमा भने चिन्ता अर्कै छ । नयाँ नोट नपाएको तनावले सहरलाई सताइरहेको छ । दसैंमा उपभोगका लागि छान्ने विकल्प थोरै भएकोमा चिन्ता छ । एउटा सानो भूगोलमा देखिने यी बिल्कुल फरक दृश्यले देखाउँछन्, हामी विभेदको खाडल झन् गहिरो बनाउँदै लगिरहेका छौं । उदेक लाग्दो त के छ भने, यो खाडल पुर्ने प्रयास कतैबाट भएको छैन । विभेदको यो विराट रुपलाई सरकार गुलिया नाराको रातो कार्पेटले छोपेर अघि बढिरहेको छ । यो मुलुकमा छ भनिएको ‘लोकतन्त्र’को चरम उपहास हो ।
‘जनताको सर्वोच्चता’ छ भनिएको राजनीतिक पद्दतिमा त्यही नियति दोहोरिन दिनु हुँदैन । पहाड– तराईका निर्धन नागरिकलाई हरेक वर्ष बाढीले खेदाउँछ । कम्तीमा उनीहरुका लागि बलियो छानाको प्रबन्ध राज्यले गरिदिनुपर्छ । ठुला उद्योगी र ठेकेदारको माग चाहिँ पूरा गर्ने सरकारले कर्णालीका भोकाहरुको, मधेशका पीडितहरुको आवाज सुन्दैन । जसका कारण ती नागरिकलाई न दसैंको रमझमले छुन्छ, न तिहार, न इद, न छठको रमाइलोमा मन शान्त हुन्छ । यस्तो स्थितिमा राष्ट्रपतिले, प्रधानमन्त्री र दलहरुले जारी गर्ने चाडपर्वको शुभकामना वक्तव्यको के छ अर्थ ?
निश्चय नै सदियौँ देखिको विभेद दश वर्षमा सकिन्न । परिवर्तन भनेको लामो प्रक्रिया हो, यो कुर्ने धैर्यता पनि चाहिन्छ । तर, यसको अर्थ यो होइन कि भोक र रोगले पनि परिवर्तन पर्खिरहन्न् । नागरिकले पैसा तिरेर पनि इन्धन, चामल पाएका छैनन्, नागरिकले स्वास्थ्य केन्द्रले सित्तैमा दिन्छु भनेको औषधि समेत पाएका छैनन् । मुलुकमा चुनाव भइरहने । जनप्रतिनिधि छानिरहने । तर, जनताका आधारभूत समस्या पनि समाधान नहुने अवस्था अब टाडा नजाओस् ।
हरेक पर्वमा शुभकामना व्यक्त गरेर औपचारिकता दर्शाउने निर्णायक तहलाई सदवुद्वि आओस्, राज्यको हरेक राम्रा प्रयासहरु जनताको खुशीको आधार बन्नसक्छ । विभेदको पर्खाल भत्काउने हिम्मत गरे, धेरै निमुखाको आँशु रोक्न सकिन्छ । कम्तीमा गणतान्त्रिक राज्यले यत्ति महसुस गरिदिने हो भने हुँदा खाने वर्गले पनि चाडपर्वको उल्लासमा मन खोलेर हाँस्न पाउँने थिए ।
साथै दसैं, तिहार, नेपाल सम्वत्, छठ लगायतका पर्वको अवसरमा सम्पूर्ण पाठक, लेखक तथा विज्ञापन दाताहरुमा मेचीनगर अनलाइन डटकम परिवारको तर्फबाट सुख, शान्ति एवम् संमृद्विको हार्दिक शुभकामना ।
Discussion about this post