मेचीनगर, १ मंसिर । गाउँमा कोही विरामी पर्यो भने एम्बुलेन्स समेत नभएपछि यहाँको युवाहरुको सामाजिक संस्थाले दवाव स्वरुप एम्बुलेन्स खरिदका लागि केही रकम वडालाई बुझाएको छ ।
आज मेचीनगर–१५ स्थित हाम्रो ज्यामिरगढी युवाहरुको एक समुहले एम्बुलेन्स खरिदका लागि वडालाई दवाव दिने उद्देश्यले पाँच हजार रुपैयाँ बुझाएको छ ।
वडा नम्बर १५ का नागरिक विरामी हुँदा अस्पतालसम्म पुर्याउन एम्बुलेन्स नभएकोले ज्यामिरगढीका युवाहरुले एक कार्यक्रमबीच वडाध्यक्ष गुणराज भट्राई (राजन) लाई सो रकम बुझाएका हुन् ।
युवाहरुले तिहारमा स्थानीय ठाउँमा ‘भाग्य चिठ्ठा’ रमाइलो मेला आयोजना गरेको थियो । मेलाबाट बचेको रकममध्ये ५ हजार रुपैयाँ एम्बुलेन्स खरिदका लागि दवाव स्वरुप सो रकम वडाध्यक्ष भट्टराईलाई हस्तान्तरण गरिएको हाम्रो ज्यामिरगढी युवाहरुका संयोजक जयराम दाहालले जानकारी दिए ।
वडाअध्यक्षले चुनाव जितेदेखि नै एम्बुलेन्स आउँछ भनेर आशा दिलाएका थिए । २ वर्ष हुन लाग्दा पनि एम्बुलेन्स नआएपछी आज आयोजित कार्यक्रमको व्यानरमै कहिँले आउँछ एम्बुलेन्स सेवा ? भनेर लेखेका थिए ।
हस्तान्तरण गरिएको सो रकम वडाको मातहतमा रहने गरी काली मन्दिर पुजा तथा मेला समितिको खातामा जम्मा गरिएको संयोजक दाहालले बताए ।
ग्रामीण क्षेत्रमा बसोबास गर्ने वडाबासीको स्वास्थ्यमा पर्ने आपतकालीन समस्यालाई सामाधान गर्न एम्बुलेन्स आवश्यक भएको ठहर गर्दै दवाव दिने उद्देश्यले अभियान सञ्चालन गरिएको हाम्रो ज्यामिरगढी युवाका सदस्य प्रकाश खड्काले बताए ।
वडाध्यक्षले एम्बुलेन्स नल्याएपछि युवाहरुले दवाव अभियान सुरु गरेको सुरज पाहानले बताए ।
Discussion about this post