झापा, २३ पुस । उन्नाइस सिटका लागि हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा ५२ जना उम्मेदवारहरुको मनोनयन दर्ता भएको छ ।
निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको दिन आज १९ सिटमा ५२ जनाको उम्मेदवारी दर्ता भएको हो । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मतदान हुने छ ।
निर्वाचन आयोगका अनुसार ७ वटै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।
कोशी प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट ५ जनाको मनोनयन दर्ता भएको छ ।
निर्वाचन कार्यक्रम अनुसार पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुनेछ ।
Discussion about this post