मेचीनगर, ११ माघ । कोशी प्रदेशकी सांसद सविना बजगाईले चारआलीको समृद्विका लागि पार्टी र जाति नभनी एक भएर लाग्न सबैलाई आग्रह गरेकी छिन् ।
आज साँझ मेचीनगर–१३ स्थित चारआलीमा सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै सांसद बजगाईले त्यस्तो कुरा बताएकी हुन् ।
प्रमुख अतिथि समेत रहेकी उनले चारआली बजारलाई नयाँ मोडलको रुपमा विकसित गर्न पनि यहाँ स्थानीयले दल र जाति नभनी एकजुट भएर लागे समृद्वि सम्भव रहेको बताइन् ।
यहाँका मठ–मन्दिर र विभिन्न सामाजिक संघ–संस्थालाई प्रदेशबाट बजेट ल्याएर सहयोग गर्ने उनको भनाई छ ।
कार्यक्रममा मेचीनगर नगरपालिकाका कार्यवहाक मेयर ह्रदय राजबंशीले यस्ता महोत्सवले संंस्कृतिलाई जोड्ने काम गर्छ तर, राजनीतिकले समाजमा उथलपुथल ल्याउने काम मात्र गर्ने दावी गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका वडा सभापति श्रीराम मरासिनी, टासी छोइछुक खोर्लीम गुम्बाका महासचिव सोनाम तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
विहीबारबाट सुरु महोत्सव माघ २४ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको ३० वटा स्टलमा विभिन्न खेलतमासा तथा बालबालिकाका लागि मनोरञ्जनका सामाग्रीहरु र स्थानी तथा राष्ट्रिय कलाकारहरुको वेजोड प्रस्तुती रहने छ ।
शुक्रबार महोत्सवमा कलाकार डम्बर नेपालीको वेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवको सहआयोजकमा चारआली जेसीज रहेको छ ।
टासी छोइछुक खोर्लीम गुम्बाका अध्यक्ष फुर्वा लामाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको स्वागत चारआली जेसीजका अध्यक्ष एवम् महोत्सवका कार्यक्रम संयोजक भोजराज पराजुलीले र सञ्चालन चारआली जेसीजका कार्यकारिणी उपाध्यक्ष विवेक सुन्दासले गरेका थिए ।
१२ वर्षपछि दोस्रो पटक आयोजना गरिएको महोत्सवबाट संकलन भएको पैसाले गुम्बाको स्तरउन्नतिका लागि खर्च गरिने अध्यक्ष लामाले जानकारी दिए ।
Discussion about this post