झापा, १३ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरु भूईंमान्छेको प्रतिनिधि भएकाले पार्टी प्रतिको गुनासो सुन्न र आम समुदायको समस्या बुझ्न संवाद यात्रा सुरु गरिएको बताएका छन् ।
आज भद्रपुर स्थित मेची पुल नजिकै आयोजना गरिएको यात्रा सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयास स्वरुप यात्रा आरम्भ गरेको दावी गरे ।
‘जनतामा निराशा छ’, महामन्त्री थापाले भने–‘त्यही निराशामा कसैले व्यापार गर्ने । कसैले फाइदासहित लाभ लिने गर्नुभएको छ । तर, नेपाली कांग्रेसले समाज परिवर्तनसहित निराशा मुक्त बनाउने छ ।’
उनले यो यात्रा आफ्नो व्यक्तिगत नभएर पार्टीको समुदायसँग जोड्ने अभियान भएको प्रष्ट पारे । जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरको गुनासो सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुवात गरेको थापाले बताए ।
उनले यात्रा आरम्भ गर्नुअघि मेची क्याम्पस परिसरमा रहेको सहिद राम थापाको शालिकमा माल्यार्पण गरेका थिए । उनले क्याम्पसका शिक्षक, विद्यार्थीको समस्या बुझ्ने काम, प्रादेशिक अस्पताल भद्रपुरको नयाँ भवनको अवलोकन गरेका थिए ।
कार्यक्रममा अर्का महामन्त्री विश्वप्रकाश शर्माले यात्राले जनताका दुःखलाई बुझ्न र आफूले गरेका गल्ती, कमजोरी पत्ता लगाउन समेत मद्दत गर्ने बताए । पार्टीलाई बलियो बनाउन पनि कांग्रेसलाई बदल्न आवश्यक रहेको उनको दावी छ ।
समुदायमा कांग्रेस अभियान अन्तरगतको यात्रा शुभारम्भ कार्यक्रममा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले किसान र मजदुरले नै काँग्रेस निर्माण गरेकाले उनीहरूको योगदानलाई आत्मासाथ गर्नु पर्ने बताए । कार्यक्रममा केन्द्रीय सदस्य प्रदीप पौडेल लगायतका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय मात्रमा सहभागिता रहेको थियो ।
कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी यहि माघ १३ गतेदेखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने जनाएको छ । महामन्त्री थापाले शनिबारै झापाका विभिन्न स्थानमा खुल्ला संवाद गर्ने कार्यक्रम रहेको छ ।
महामन्त्री थापाले संवाद यात्राका क्रममा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसम्म पुग्ने कार्यक्रम रहेको छ ।
Discussion about this post