मेचीनगर, १६ माघ । मिटर ब्याज पीडितहरुले मंगलबार मेची पुलबाट ‘न्याय यात्रा’ का लागि देशव्यापी आन्दोलन सुरु गरेका छन् ।
मेचीनगर–६ स्थित काँकरभिट्टाको मेची पुलबाट ‘न्याय यात्रा’ को आयोजना मिटर ब्याज तथा ठगी किसान मजदुर संघर्ष समिति नेपालले गरेको हो ।
यात्रामा विभिन्न जिल्लाका ५० जना पीडित सहभागी छन् । उनीहरुले यात्रा अवधिभरका लागि खाने र बस्ने सामान साथमै बोकेका छन् । पैदलै हिँडेर चितवन पुग्ने र १५ दिनमा काठमाडौं पुगेर वृहत विरोध प्रदर्शनमा सहभागी हुने उनीहरुले बताए ।
उता महेन्द्रनगरको गड्डाचौकीबाट समेत आजै ‘न्याय यात्रा’ निस्किएको छ । दुईतिरबाट आउने यात्राको भेट चितवनमा हुने छ ।
समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए । ‘फर्जी लिखत’ बदर हुनुपर्ने र ‘पीडितको सम्पत्तिको हक हस्तान्तरण’ खारेज हुनुपर्ने लगायत उनीहरुले ६ बुँदे माग सरकारलाई बुझाएर आन्दोलनमा होमिएका छन् ।
संघर्ष समिति झापाका सचिव नारद दवाडीले झापामा ६०० भन्दा बढी मिटर ब्याज पीडित रहेको जानकारी दिए । उनले आन्दोलन शान्तिपूर्ण हुने र माग पूरा नभएसम्म अभियान जारी रहने दावी गरे ।
Discussion about this post