मेचीनगर, १७ माघ । मेचीनगर नगरपालिकाका मेयर गाेपाल चन्द्र बुढाथोकीले काँकरभिट्टा माविकाे खेल मैदानका विषयमा कार्यपालिकाकाे वैठकबाट सच्याउने बताएका छन् ।
आज काँकरभिट्टा माविका प्रधानाध्यापक हरिप्रसाद न्याैपानेकाे नेतृत्वमा नगरपालिका आएको टाेलीलाई मेयर बुढाथोकीले यस्ताे कुरा बताएका हुन् ।
प्रअ न्याैपानेले विद्यालयले २०२४ सालदेखि भाेगचलन गरेकाे खेल मैदान अर्कैकाे नाममा हुनु हुँदैन भन्ने पक्षमा रहेकाेले यसलाई जसरी पनि विद्यालयकै नाममा हुनु पर्छ भन्ने मागसहितकाे ज्ञापनपत्र मेयर बुढाथोकीलाई बुझाएका थिए ।
ज्ञापनपत्र बुझ्दै मेयर बुढाथोकीले विद्यालयका विषयमा विगतकाे निरन्तरता मात्र रहेकाे दावी गरे । उनका अनुसार पूर्व मेयर विमल आचार्यकाे पालामा कार्यपालिकाले गरेकाे निर्णयलाई हामीले निरन्तरता दिएका छाैँ ।
अबकाे कार्यपालिकाकाे वैठकले विद्यालयकाे खेल मैदानकाे विषयमा संशोधन गरिने मेयर बुढाथोकीले बताए ।
विद्यालयका संस्थापक सदस्य डम्बरबहादुर बुढाथोकी , विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष हाेमबहादुर विष्ट, प्रअ न्याैपानेले आ-आफ्नाे धारणा राखेका थिए ।
राष्ट्रिय आवास कम्पनीकाे स्वामित्वमा रहेकाे काँकरभिट्टा माविकाे खेल मैदानकाे जग्गा नगरपालिकाले आफ्नो नाममा सिफारिस गरेकाे छ । कम्पनीको नाममा रहेका काँकरभिट्टाका सार्वजनिक जग्गाहरू नगरपालिकाले आफ्नो नाममा हस्तान्तरण गर्नु पर्ने माग छ ।
Discussion about this post