मेचीनगर, १८ माघ । चन्द्रगढीका ३४ वर्षीय अजित राजबंशी दुबईमा विरामी परेर अलपत्र भएपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको पहलमा नेपाल ल्याइएको छ ।
परिवारको अवस्था नाजुक भएपछि पैसा कमाउन विदेश गएका भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढीका राजबंशी दुबईमा विरामी परेर अलपत्र भएपछि संघीय सांसद शर्माको पहलमा बुधबार राति उद्दार गरी नेपाल ल्याइएको हो ।
दुबईमै रहेका भद्रपुरकै युवा प्रवीण चौहानले केहि दिनअघि राजबंशी विरामी भएको कुरा फेसबुकमा पोस्ट गरेर सांसद शर्मालाई लिंक पठाएका थिए । सांसद शर्माले उक्त लिंक हेरेपछि राजबंशीको उद्वार भएको हो ।
सांसद शर्माले दुबई स्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष भवानीप्रसाद तिम्सिनालाई सम्पर्क गरेर राजबंशीको जसरी भएपनी उद्वार गर्न आग्रह गरेका थिए । त्यसपछि जनसम्पर्क समितिले तत्काल राजबंशीको नेपाल फर्किने प्रक्रिया सुरु गरेको थियो ।
कम्पनीको असहयोग, कानुनी र व्यवहारिक जटिलताका कारण करिव एक महिनापछि राजबंशी माघ १७ गते राति काठमाडौँ ल्याण्ड भएका हुन् ।
राजबंशीलाई दुबईको एयरपोर्टबाट युएइका अध्यक्ष तिम्सिनाले बिदाइ गरेका थिए भने काठमाडाँैको एयरपोर्टमा सांसद शर्माका तर्फबाट कांग्रेस झापा–१ काठमाडौ सम्पर्क समितिका सभापति प्रज्वल कोइरालासहित समितिका सदस्यहरुले स्वागत गरेका थिए ।
राजबंशी आज (विहीबार) दिउँसो चन्द्रगढी स्थीत घर आईपुग्ने बताइएको छ । राजबंशी दुबईमा विरामी भएर थला परेपछि काम गर्न सक्ने अवस्था थिएन । उनी नेपाल आउँन चाहेका थिए । तर, नेपाल फर्किन सम्भव थिएन ।
राजबंशी विरामी परेपछि काम गर्न छाडेका थिए । पैसा नभएपछि उनी अलपत्र अवस्थामा थिए । भद्रपुर–१० नम्बर वडा सांसद शर्माकै क्षेत्र पनि हो ।
शर्माले यसअघि विदेशमा अलपत्र रहेका मेचीनगर लगायत झापाका विभिन्न ठाउँका युवा–युवतीहरुलाई उद्वार गरिसकेका छन् ।
Discussion about this post