झापा, १ फागुन । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा नेपालले माल्दिभ्समाथि २१४ रनको जित निकाल्दा शतकसहित ३ विकेट लिएकी रुबिनाले प्लेअर अफ दी म्याचको अर्वाड पाएकी छन् ।
टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी रुबिना ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनमा अविजित रहेकी थिइन् । नेपालले २० ओभरमा ४ विकेट गुमाएर २२७ रन बनाएको थियो ।
२२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्सलाई १३ रनमा अल आउट गर्ने क्रममा रुबिनाले बलिङतर्फ ३.५ ओभरमा २ रन खर्चिएर ३ विकेट लिइन् । माल्दिभ्सलाई २१४ रनको फराकिलो अन्तरले हराउने क्रममा कीर्तिमान प्रदर्शन गरेकी रुबिना म्यान अफ द म्याच भएकी थिइन् ।
‘मेरो यो अवार्ड म मेरो देश, नेपाली महिला क्रिकेटलाई माया गर्ने समर्थक र मेरो परिवारलाई समर्पण गर्न चाहन्छु,’ अवार्ड हात पारेपछि उनले भनिन् । विकेट निक्कै नै राम्रो रहेकाले विकेटमा टिकेर आफ्नै सर्टहरु खेल्ने योजना अनुसार खेल्दा कीर्तिमान बनेको उनले बताइन् ।
‘विकेट निकै राम्रो थियो, हामीले यो विकेटमा खेलिसकेका थियौं । विकेट फ्ल्याट हुन्छ र खेल्न सहज हुन्छ भन्ने मलाई थाहा थियो,’ उनले भनिन्, ‘हामीले जति लामो समय खेल्यो त्यति धेरै रन बनाउन सक्छौं भन्ने थियो । मैले त्यहि सोचेर खेलेको थिएँ ।’
खेल भएको मलेसियाको बाङ्कीको तापक्रम ३२ डिग्रीसम्म पुगेको थियो । त्यो गर्मीमा पनि रुबिना र नट आउट ५९ रन बनाएकी पूजा महतो फिट देखिएका थिए ।
अभ्यासका क्रममा फिटनेशमा धेरै काम गरेकाले खेल्न सहज भएको रुबिनाले बताइन् । ‘हामीले फिटनेसमा निकै काम गरेका थियौं । यसको क्रेडिट हाम्रो सर्पोट स्टाफलाई पनि जान्छ,’ उनले भनिन्, ‘गर्मी थियो तर हामी कुनै पनि प्रतियोगितामा आउँछौं भने हामी जित्नकै लागि आउँछौं । हामीले जसरी पनि खेल्नु पर्छ ।’
६.२ ओभरको खेल सकिँदा ६१ रन बनाएको नेपालले ४ विकेट गुमाएको थियो । त्यसैले रुबिना र पूजाले १० ओभरसम्म सम्हालिएर खेलेका थिए र त्यसपछि शर्टहरु प्रहार गरेका थिए ।
‘हामीले केही छिटो विकेट गुमाएका थियौं । जसका कारण हामीले १० ओभरसम्म टिकेर विकेट लिएर जानुपर्ने थियो । त्यसपछि हामीले शर्टहरु प्रहार गर्न थाल्यौं ।’
Discussion about this post