बिर्तामोड, ९ फागुन । सत्तारुढ गठबन्धनको एउटा घटक नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले सरकारले जनताको चहाना अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।
बुधवार बिर्तामोडमा नेकपा एकीकृत समाजवादी पार्टी झापाले आयोजना गरेको विचार गोष्ठीका प्रमुख अतिथि एवम् पूर्व प्रधानमन्त्री खनालले सरकारप्रति पार्टीको असन्तुष्टि रहेको बताए ।
‘जनतामा असन्तुष्ट व्यापक छ’, खनालले भने–‘जनतामा आक्रोश धेरै छ । हाम्रो पार्टीका दुई मन्त्री छन् । तर, मन्त्रालयमा बजेट छैन । गठबन्धन जसरी चल्नुपर्ने हो त्यसरी चलेको छैन । सरकारका विषयमा पार्टीमा व्यापक असन्तुष्टि जाहेर भएको छ ।’
उनका अनुसार अहिले पनि घोषणापत्र उत्तिकै सान्दर्भिक छ । उनले घोषणापत्रले भनेको वैज्ञानिक समाजवाद नेपाली कम्युनिस्ट आन्दोलनको अहिलेको कार्यदिशा रहेको दावी गरे । उनले भने ‘अब नेपालको कम्युनिस्ट आन्दोलन समाजवादी कार्यदिशाकै जगमा एकताबद्ध गर्न अघि बढ्नुको विकल्प छैन ।’
खनालले पार्टीको आउने महाधिवेशनमा अध्यक्षको उम्मेदवार हुने संकेत गरेका छन् । ‘महाधिवेशनले के नीति पारित गर्छ । त्यसलाई हेर्छौँ । जसको नीति हुन्छ उसले नै नेतृत्व गर्नुपर्छ’, उनले भने ।
उनले अबको महाधिवेशननमा चारवटा दस्तावेज आउने बताए । उनका अनुसार कार्यक्रमिक दस्तावेज, राजनीतिक दस्तावेज, संगठनात्मक दस्तावेज र पार्टीको विधान । कार्यक्रममा प्रमुख अतिथि खनाल, केन्द्रीय सदस्य अशेष घिमिरे लगायतले विचार विमर्श गरेका थिए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू धर्मराज पौडेल, खिनु लङ्ग्वा, नीलमणी बराल, चन्द्रा श्रेष्ठ लगायत झापाका अगुवा नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।
नेकपा एकीकृत समाजवादी पार्टीका झापा अध्यक्ष वेदराज रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विपी भट्टराईले गरेका थिए ।
Discussion about this post