झापा, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा अध्यक्ष नछाड्ने संकेत गरेका छन् ।
प्रचण्डले यसअघि सिटौला नै आए राष्ट्रिय सभा अध्यक्षमा सकारात्मक रुपमा सोच्ने वचन सत्ता साझेदार नेपाली कांग्रेसलाई दिएको स्वीकार गरेका छन् । तर, अहिले परिस्थिति फेरिएको भन्दै उनले सिटौलालाई समर्थन नगर्ने संकेत गरेका हुन् ।
विहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभा अध्यक्षबारे पार्टीले लिखित निर्णय नगरिसकेको बताए ।
स्थायी समिति बैठकमा अत्यधिक सदस्यले राष्ट्रियसभा अध्यक्ष छोड्न हुँदैन भन्ने सुझाव दिएको प्रचण्डको भनाई छ ।
कांग्रेस नेता सिटौलालाई वचन दिनुभएको थियो होइन र भन्ने जिज्ञासामा उनले त्यो बेला परिस्थिति भिन्न रहेको बताए ।
‘शान्ति प्रक्रिया र सविधान निर्माणमा खेलेको सकारात्मक भूमिकाको सन्दर्भमा सिटौला आए सकारात्मक ढंगले सोच्न सकिन्छ भनेको’, प्रचण्डले भने, –‘त्यहाँदेखि यहाँसम्म आउँदा केही घटनाक्रम अलि भिन्न ढंगले अगाडि गएको छ ।’
Discussion about this post