बिर्तामोड, २१ फागुन । कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले शहिद र वेपत्ता परिवारको योगदानले अहिले युगान्तकारी परिवर्तन सम्भव भएको बताएका छन् ।
आज बिर्तामोडमा शहिद प्रतिष्ठान नेपाल झापाले शहिद स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले युगान्तकारी परिवर्तन गर्ने शहिद र वेपत्ता परिवारलाई राज्यले ध्यान दिनुपर्ने बताए ।
‘शहिदहरुले बोकेको सपना पुरा भएको छैन’, मन्त्री कार्कीले भने–‘नेतृत्वले बाटो भुल्न हुँदैन । उनीहरुको सपना पुरा गर्नुपर्छ । जनआन्दोलन र जनयुद्वबाट आएको लोकतान्त्रिक गण्तन्त्र व्यवस्थालाई स्थायित्व दिन सक्नु पर्छ । जनताले चाहेको जस्तो संविधान बन्न सकेन । कम्युनिष्टहरु एक ठाउँमा आएमात्र परिवर्तन सम्भव हुन्छ । अनि मात्र मुलुकलाई समाजवादमा लान सकिन्छ ।’
मन्त्री कार्कीले प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष राजु पाठकद्वारा प्रकाशित सुखानी सन्देशको विशेषांकको विमोचन समेत गरेका थिए । शहिद सप्ताहको अन्तिम दिनको अवसर पारेर विशेषांक विमोचन गरिएको हो ।
झापा विद्रोहसँग प्रत्यक्ष सम्बन्धित विभिन्न नेताहरूसहित शहिद परिवारका सदस्यहरू तथा उक्त घटनाका जानकारहरूको व्याख्या र विश्लेषणलाई पुस्तकमा समेटिएको छ ।
सुखानी सन्देशको मुख्य उदेश्य झापा विद्रोह र जनयुद्वले सिर्जित गरेको परिवर्तनलाई कम्युनिष्टहरु अब एक ठाउँमा उभिनै पर्ने अवस्था विद्यमान रहेको पाठकको भनार्य छ ।
पुस्तकको विषयमा पत्रकार मोहन काजीले समीक्षा गरेका थिए । उनले पुस्तक यथार्थ परक रहेको र एउटा ऐतिहासिक दस्तावेज भएको बताए ।
उनले सुखानीको विषयमा यसअघिका कृतिहरुमा केही आशंका र टिप्पणीहरू रहे पनि यस विशेषाङ्कमा यथार्थपरक लेखहरु समेटिएको बताए ।
झापा विद्रोहलाई नक्सलवादी आन्दोलनको प्रभाव रहेको भन्ने आलोचनालाई समेत यस विशेषांकले चिर्ने काम गरेको उनको भनाई छ । उनका अनुसार विशेषांकको उदेश्य कम्युनिष्टहरु एकजुट हुनुपर्छ भन्ने नै छ ।
म्यागजिन १५२ पृष्ठ रहेको छ भने वोजन झन्डै आधा केजीको छ । कार्यक्रममा झापाका ५ दर्जन भन्दाबढी शहिद तथा बेपत्ता परिवारका सदस्यहरुलाई सम्मान गरिएको थियो ।
Discussion about this post