मेचीनगर, २५ फागुन । ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काँकरभिट्टाको महिला जनचेतना केन्द्र र मखमली महिला बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा दृष्टिविहीन महिलाहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
शुक्रबार संस्थाले काँकरभिट्टामा आयोजना गरेको कार्यक्रममा दृष्टिविहीन महिलाहरुले पहिलो पटक सहभागिता जनाएको बताइएको छ ।
उनीहरुले कार्यक्रममा जीविकोपार्जनमा समस्या, बालबच्चाको शिक्षा, स्वास्थ्य र राज्यले उपलब्ध गराउँदै आएको सुविधा लिन अनेकौँ समस्या झेल्नु परेकोे गुनासाहरु सुनाएका थिए ।
दृष्टिविहीनले उत्पादन गरेको सामाग्रीको बजारीकरणमा समस्या, स्वरोजगारमूलक कार्यक्रम गर्न आर्थिक अभावल गायतका कारणले सडकमा गीत गाएर पेट पाल्न बाध्य बन्नु परेको कथा उनीहरुले सुनाएका थिए । अधिकांश दृष्टिविहीनहरुले आवासविहीनहरुका लागि राज्यसँग बसोवासको व्यवस्था मिलाइन दिन समेत आग्रह गरेका छन् ।
महिला जनचेतना केन्द्रकी कार्यक्रम संयोजक राधा प्रधान कार्कीले दृष्टिविहीन महिलाले जीविका, सार्वजनिक यातायातमा आवतजावत र राज्यको सुविधामा सकस भोग्नु परिरहेको हुँदा यस विषयमा सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले कार्यक्रम गरिएको बताइन् ।
उनले कार्यक्रममा महिलाले सुरु गरेका स्वरोजगारमूलक संस्थाहरुलाई सरकारले सहयोग गर्नुपर्ने माग गरिन् । कार्यक्रममा नगर क्षेत्रका महिला नेतृहरु रचना घिमिरे, उषा श्रेष्ठ, विना तामाङ, लक्ष्मी थिङ्ग पाख्रिन, विटु गुरुङ, पत्रकार अम्बिका भण्डारी, सुष्मा राजवंशी लगायको उपस्थिति रहेको थियो ।
कार्यक्रममा काँकरभिटटा क्याम्पसमा अध्ययनरत दृष्टिविहीन पवित्रा दाहालले तिर्नु पर्ने फि वापतको मासिक शुल्कको आधा रकम समाजसेवी विना तामाङले उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेकी थिइन् ।
मखमली महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सीता गुरुङको अध्यक्षमा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष लक्ष्मी खनियाँले र सञ्चालन सदस्य रेजिना श्रेष्ठले गरेकी थिइन् ।
Discussion about this post