इलाम, ४ चैत । इलाम–२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेले ६ जनाको नाम सिफारिस गरेको छ ।
केन्द्रीय कमिटीले एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भने पनि इलाम जिल्ला कमिटीको आइतबार बसेको सचिवालय बैठकले ६ जनाको नाम सिफारिस गरेको हो ।
सिफारिस हुनेमा सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, रिपल राई र देवी क्षेत्री दुलाल रहेका छन् ।
शनिबार पार्टी कार्यालय इलाममा आकांक्षीहरू बीच सहमति जुटाउने उद्देश्यले बैठक राखिए पनि कसैले आवेदन फिर्ता लिन मानेनन् ।
आइतबार पनि सहमतिको प्रयास विफल भएपछि सबै जनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गरिएको जिल्ला सचिव उमेश गुरुङले जानकारी दिए ।
जिल्ला कमिटीको बैठकमा मतदानबाट उम्मेदवार चयन गर्ने छलफल भए पनि पार्टीमा योगदान दिएका नेता निरुत्साहित हुन सक्ने भएकाले सबैको नाम केन्द्रमा पठाइएको उनको भनाइ छ ।
‘समयको माग र कमरेडहरूको योगदानका आधारमा जिल्ला कमिटीले कसैको नाम काँटछाँट नगरेको हो’ गुरुङले भने ।
Discussion about this post