काँकरभिट्टा, ६ चैत । वडा नम्बर १० मेचीनगरमा जारी ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया–२०८०’ को च्याम्पियन बनेको छ ।
मेचीनगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको मेचीनगर स्पोर्ट्स मेनियामा १६ स्वर्णसहित मेचीनगर–१० च्याम्पियन बनेको हो ।
वडा नम्बर १० ले प्रतियोगितामा १६ स्वर्ण, १ रजत र ३ कास्य पदक प्राप्त गरेर विजेता बनेको छ । यसैगरी, प्रतियोगितामा मेचीनगर–६ ले ९ स्वर्णसहित दोस्रो बनेको छ । उसले ९ स्वर्ण, १० रजत र १० कास्य पदक प्राप्त गर्यो ।
त्यस्तै मेचीनगर–९ र मेचीनगर–११ समान ८ स्वर्णसहित तेस्रो भएको छ । वडा नम्बर ९ ले ८ स्वर्ण, ११ रजत र ५ कास्य तथा वडा नम्बर ११ ले ८ स्वर्ण, ५ रजत र ९ कास्य पदक प्राप्त गरेको छ ।
प्रतियोगितामा मेचीनगर–७ ले ६ स्वर्ण, ६ रजत र २ कास्य, मेचीनगर–१४ ले ६ स्वर्ण, ५ रजत र २० कास्य, मेचीनगर–८ ले ४ स्वर्ण, ३ रजत र २ कास्य, मेचीनगर–४ ले ३ स्वर्ण, ३ रजत र १० कास्य पदक हात पार्यो ।
यस्तै मेचीनगर–१२ ले ३ स्वर्ण, २ रजत र २ कास्य, मेचीनगर–१५ ले ३ स्वर्ण, ८ रजत र ६ कास्य, मेचीनगर–३ ले एउटा स्वर्ण, ८ रजत र १० कास्य, मेचीनगर–२ ले ३ रजत पदक प्राप्त गर्यो भने मेचीनगर–५ र १३ नम्बर वडा पदक विहिन भएको छ ।
गत फागुन २९ गतेदेखि चैत ६ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल, कबड्डी, कराते, बक्सिङ, तेक्वान्दो, एथलेटिक्स र चेस खेलमा प्रतिष्पर्धा भएको थियो ।
समापन कार्यक्रममा मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, मेचीनगर खेलकुद विकास समिति संयोजक हृदय राजवंशी, उपाध्यक्ष रविन ओझा, खेलकुद विकास समितिका सदस्य सचिव अनन्तप्रकाश वस्ती, वडाध्यक्ष लगायतले प्रतियोगिताका विजेता खेलाडीहरूलाई पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
Discussion about this post