मेचीनगर, ६ चैत । ‘राजनीतिमा महिलाहरुको अर्थ पूर्ण सहभागिताको सुनिश्चित गर’ भन्ने मुल नाराका साथ अन्तर–पुस्ता महिला मञ्च (आइजीएफएफ) ले आज काँकरभिट्टादेखि बसबाट देशब्यापी महिलावादी अनुपम अभियान सुरु गरेको छ ।
मिसन–८४ अन्तरगत महिलालाई राज्यको निर्णायक तहमा पुर्याउन देशब्यापी जागरण ल्याउनु बसयात्रा अभियानको मुख्य उद्देश्य रहेको मञ्चका केन्द्रीय संयोजक डा.सुशान्त रिसालले बताइन् ।
परमुखी विकासको कुलो फर्काउनु पर्ने र महिलालाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिँदै त्यसका लागि लैंगिक विभेदका विरुद्ध सबै मोर्चामा आवद्व हुनु पर्ने भनाई राखिन् ।
कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेतीले महिलाहरुले साझा दृष्टिकोण बनाएर अघि बढे मिसन सफल हुने बताइन् ।
अनुपम बस यात्राको सहजिकरण गरिरहेकी महिला जनचेतना केन्द्र झापाकी अध्यक्ष सीता गुरुङले महिलावादी अभियन्ताहरुले बसयात्रा क्रममा स्थानीय समुदायसँग अन्तरक्रिया गर्दै जाने बताइन् ।
मञ्चको केन्द्रीय सञ्चालक समितिकी सदस्य राधा प्रधानले मिसन ८४ मा महिलाहरुलाई उत्साहजनक सहभागिताका लागि नेतृत्वदायी भूमिका खेल्न यो अभियानले सार्थक बनाउने दावी गरिन् ।
कार्यक्रममा महिला अधिकारकर्मी मीरा पोखरेल काफ्लेले जागरण अभियान सम्बन्धी गीत प्रस्तुत गरेकी थिइन् । आज काँकरभिट्टा र सोमवार कञ्चनपुरबाट सुरु भएको बसयात्रा चैत ९ गते नवलपरासीपमा पुगेर समापन हुने आयोजकको भनाई छ ।
Discussion about this post