मेचीनगर, ११ चैत । मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले नदिजन्य पदार्थ उत्खनन्को स्थलगत निरीक्षण गरेका छन् ।
आइतबार विहान मेयर बुढाथोकीको नेतृत्वको टोलीले मेचीनगर क्षेत्रमा पर्ने निन्दा र टिमाई खोलाको निरीक्षण गरेका हुन् ।
मेचीनगरले एक महिनाअघि मात्रै नदिजन्य पदार्थ उत्खनन् (ढुंगा, गिटी र बालुवा) ठेक्का लगाएको थियो ।
खोलाबाट ढुंगा, गिटी र बालुवा निकाल्दा जनतालाई सिँचाइ लगायतका समस्याहरू आउन नदिन र मापदण्ड अनुसार नै नदिजन्य पदार्थ उत्खनन् भएको छ की छैन भनेर स्थलगत निरीक्षण गरिएको बुढाथोकीले जानकारी दिए ।
निन्दा र टिमाई खोलाको निरीक्षणका क्रममा कुनैपनि समस्या नदेखिएको मेचीनगर कार्यपालिका सदस्य एवम् भौतिक पूर्वाधार विकास समिति संयोजक चित्र धिमालले बताए ।
उनले आगामी दिनमा पनि समस्या नआउने गरी काम गर्न ठेकेदारलाई सुझाव दिइएको बताए ।
नगरपालिकाले निन्दा खोलाको कर वाहेक एक करोड ३० लाख रुपैयाँमा ६० हजार घनमिटर र टिमाई खोलाको कर वाहेक ४५ लाखमा २१ हजार घनमिटर उत्खनन् गर्ने गरी ठेक्का लगाएको थियो ।
Discussion about this post