बिर्तामोड, १६ चैत । नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवसको अवसरमा झापा शाखाले झण्डोत्तोलन कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार महासंघ झापाको बिर्तामोड स्थित कार्यालय भवनमा राष्ट्रिय झण्डा र महासंघको झण्डा झण्डोत्तोलन गरिएको हो ।
महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार, लेखक तथा राजनीतिक विश्लेषक चन्द्र किशोर र महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्यले झण्डोत्तोलन गरेका थिए ।
कार्यक्रममा वरिष्ठ पत्रकार किशोरले नेपाली पत्रकारिता अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेको भन्दै जुनसुकै परिस्थितिमा पनि पत्रकारले भुइँमान्छेको पक्षमा आवाज उठाइरहनुपर्ने बताए ।
पछिल्लो समय पत्रकारहरु स्थानीय सत्ताप्रति मौन रहँदा धेरै विकृति मौलाएकोतर्फ संकेत गर्दै स्थानीय सत्ताका कमजोरीप्रति तेजिलो प्रश्न गरेर खबरदारी गरिरहनुपर्नेमा उनको जोड थियो ।
पूर्व अध्यक्ष आचार्यले पत्रकारलाई संगठित गरी गर्विलो इतिहास कायम गरेको नेपाल पत्रकार महासंघको स्थापना दिवसको सन्दर्भमा शुभकामना व्यक्त गरे । कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।
स्थापना दिवसकै सन्दर्भमा महासंघ झापा शाखाले अध्यक्ष गिरीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
Discussion about this post