काँकरभिट्टा, ७ चैत । पूर्वीनाका काँकरभिट्टाबाट १७ वटा ट्रकमा तयारी चिया लिएर पानीट्याङकी पुगेको ट्रकलाई भारतले रोकेको छ ।
भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको उक्त ट्रकलाई पानीट्याङकीमा रोकेको हो ।
चिया निर्यातको अनुमति नपाएर रोकिएका ती ट्रकहरु पानीट्याङकीको सडकमा असुरक्षित अवस्थामा रहेको चिया व्यवसायी एवम् भन्सार एजेन्ट रोशन अग्रवालले जानकारी दिए ।
मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भारतीय भन्सारमा नेपाली चिया रोकिएको स्वीकार गर्दै त्यसलाई खुलाउन स्थानीय र केन्द्रीय तहबाट प्रयास भइरहेको बताए ।
भारतीय नाकामा नेपाली चिया रोकिएको जानकारी आएपछि पानीट्याङकी स्थल भन्सार कार्यालयका समकक्षीसँग आजै भेटेर समस्या समाधानका लागि आग्रह गरेको रेग्मीले बताए ।
मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईले नेपाली चियाको निर्यात रोक्न भारत सरकारले गुणस्तर परीक्षणको नयाँ बखेडा झिकेको बताए । तत्काल यसको समाधान नखोजिए नेपाली चिया उद्योग संकटमा फँस्ने उनको भनाई छ ।
भन्सार एजेन्ट अग्रवालका अनुसार पानीट्याङकी भन्सार कार्यालयले हरेक ट्रकमा रहेको नेपाली चियाको अलग–अलग गुणस्तर परीक्षण गरिनु पर्ने नयाँ नियम लगाएर निर्यातमा रोक लगाएको छ ।
‘यसअघि एउटा कम्पनीले एउटा नमुनाको गुणस्तर जाँचपास गराएको रिपोर्टले १५ दिनसम्म जति गाडी चिया निर्यात गर्दा पनि मान्यता पाउँथ्यो’, व्यवसायी अग्रवालले भने–‘अहिले भारतीय भन्सारले हरेक गाडीको छुट्टाछुट्टै नमुनाको गुणस्तर जाँचपास रिपोर्ट ल्याउनु पर्ने अड्को थापेको छ ।’
भारतीय पानीट्याङकी भन्सारमा गोदामको सुविधा नभएको हुँदा नेपालबाट चिया लोड भएर गएका १७ वटै ट्रक खुला सडकमा अलपत्र रहेको उनले बताए ।
सडकमा अलपत्र अवस्थामा त्रिपालले छोपेर चिया राखिएको ट्रकमा राति चोरी र लुटपाट हुनसक्ने जोखिम रहेको छ । अलपत्र ट्रकहरुमध्ये नेपाल चिया विकास निगमको ६ वटा ट्रक, अन्य सामान हिमालयन रेञ्ज लगायतका चिया उद्योगका हुन् ।
सीटीसी र अर्थोडक्स चिया भारत निर्यात हुँदै आएको छ । नेपाली चियाको ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ । निर्यात हुने चियाको ९२ प्रतिशत काँकरभिट्टा नाका भएर भारत जाने गरेको छ ।
चिया व्यवसायीहरुका अनुसार भारतले नेपालमा गरिएको गुणस्तर जाँचको रिपोर्टलाई मान्यता दिएको छैन । पानीट्याङकी भन्सारमा समेत गुणस्तर जाँच्ने प्रयोगशाला छैन ।
भारतको कोलकाता, दिल्ली, पटना लगायतका स्थानका प्रयोगशालामा गरिएको गुणस्तर जाँचपासलाई मात्र भारतीय भन्सारले मान्यता दिने भएको हुँदा यसबाट नेपाली चिया निर्यातमा संलग्न व्यवसायीहरु मारमा रहेका छन् ।
Discussion about this post