झापा, १७ वैशाख । झापा गाउँपालिकामा लागुऔषध कारोवारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।
झापा गाउँपालिका–३ स्थित कामाटोलीमा गोली हानेर प्रहरीले वर्ष २५ को सरिफुल आलमलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापा प्रमुख एसपी मिलन केसीले लागुऔषध नियन्त्रण ब्यूरोसँगको संयुक्त अपरेसनका क्रममा आलमलाई पक्राउ गरिएको बताए ।
झापा गाउँपालिका–३ स्थित कामाटोलीको अक्कलबहादुर विश्वकर्माको घरको तेस्रो तलामा लागूऔषध कारोवार भइरहेको जानकारी भएपछि प्रहरी परिचालित गरिएको थियो ।
‘लामो समयदेखि आलम त्यसक्षेत्रबाट लागुऔषध ओसारपसारमा संलग्न थिए’, एसपी केसीले भने, ‘त्यसक्रममा सर्भिलेन्समा राखिरहेका बेला एउटा घरमा डिल हुन लागेको सूचना थियो ।’
घरमा गएर जाँच गर्न थालेपछि उनले खुकुरी लिएर प्रहरीलाई आक्रमण गर्न खोजेको एसपी केसीको दावी छ । त्यसक्रममा प्रहरीले गोली हानेर उनलाई पक्राउ गरेको हो । घाइते आलम झापा गाउँपालिका–४ निवासी हुन् । उनलाई प्रहरीले अस्पताल लगेको छ ।
Discussion about this post