मेचीनगर, १९ बैशाख । ‘स्वास्थ्य तपाईको सेवा हाम्रो’ नाराका साथ महिला जनचेतना केन्द्र मेचीनगरले बुधवारदेखि काँकरभिट्टामा १५ दिने फिजियो थेरापी सेवा शिविर सञ्चालन गरेको छ ।
काँकरभिट्टा स्थित दरवार होटलकै एउटा हलमा बुधवारदेखि सञ्चालनमा ल्याइएको फिजियो थेरापी शिविरको मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेतीले विधिवत रुपमा उद्घाटन गरेकी हुन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी उपमेयर उप्रेतीले स्वास्थ जीवन जीउँन हामीले धेरै कुराहरु पालना गर्नु पर्ने बताइन् । खानपिन, व्ययाम, रहनसहन लगायतका विषयमा ध्यान दिन जरुरी रहेको उनको भनाई छ ।
केन्द्रले फिजियो थेरापी शिविर आयोजना गरेकोमा प्रशंसा गर्दै उनले भनिन् यस्ता सेवाहरुले नागरिकहरुमा प्रत्यक्ष लाभ पुग्ने छ ।
उनले नगरपालिकाले गरेको लगानीले जनतालाई कति सुविधा पुग्यो, पुगेन भन्ने कुरा पनि महत्वपूर्ण हुने बताइन् । उक्त शिविर सञ्चालन गर्न नगरपालिकाको आर्थिक सहयोग रहेको छ ।
कार्यक्रममा महिला जनचेतना केन्द्रकी संस्थापक अध्यक्ष राधा प्रधान कार्कीले लामो समयदेखि सामाजिक क्षेत्रमा विशेष गरेर महिलाहरुको सशक्तिकरणका लागि काम गरिरहेको संस्थाले यो पनि त्यहि अभियान अन्तरगत रहेको बताइन् ।
कार्यक्रमको अध्यक्षता गरेकी महिला जनचेतना केन्द्रकी अध्यक्ष सीता गुरुङले अस्पतालमा उपचार गरेर सम्भव नभएका र आर्थिक अवस्था कमजोर भएकाहरुका लागि निःशुल्क रुपमा उक्त शिविर आयोजना गरिएको दावी गरिन् ।
विहान साढे ६ वजेदेखि साढे ९ वजेसम्म उक्त शिविर सञ्चालन हुने बताइएको छ । विरामीहरुलाई बिर्तामोडका फिजियोथेरापिष्ट डा.कविन सापकोटाले उपचार सेवा प्रदान गरेका छन् । डा.सापकोटाको सहयोगीका रुपमा भुमादेवी अधिकारी रहेकी छिन् ।
उक्त उपचारका लागि ३४ जना विरामीले नाम टिपाएका छन् । आजै करिव १० जना विरामीहरुले उक्त सेवा लिएका छन् ।
विभिन्न ठुला अस्पतालमा जति उपचार गर्दा पनि निको नभएको, बल्झँदै गएको, हात खुट्टा दुख्ने पोल्ने झमझम गर्ने सुक्ने, हिड्न नसक्ने, ओछ्यान पर्ने, गर्दन र ढाडमा नसा च्यापेका, खाटबाट उठ्नलाई सहयोग चाहिने विरामीहरुका लागि यस्तो उपचार विधिले केहि मात्रमा भरथेग गरेको पाइएको छ ।
महिला जनचेतना केन्द्रकी कोषाध्यक्ष लक्ष्मीदेवी खनियाँले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य रेजिना श्रेष्ठले गरेकी थिइन् ।
भिडियो हेर्नु होला ।
Discussion about this post