मेचीनगर, १९ बैशाख । मेचीनगर–१५ स्थित फडानी वस्तीकी सन्थाल समुदायकी २१ वर्षीया ममता हेमरम अहिले वीएड पढ्दै छिन् ।
भद्रपुर स्थित वीरेन्द्र नमुना मावि चन्द्रगढीमा हेमरम वीएड पहिलो वर्षमा अध्ययान गर्दै छिन् । उनी सरकारद्वारा सूचीकृत ५९ आदिवासी जनजातिमध्ये आफ्नो छुट्टै मौलिक पहिचान बोकेको सीमान्तकृत जातिको सन्थाल समुदायमा पर्छिन् ।
उनी फडानी वस्तीदेखि सधैँ साइकलमा वीरेन्द्र मावि धाउँछिन् । उनका बुबा सोम हेमरम र आमा पानी हस्दा स्थानीय चिया बगानमा मजदुरी गर्छन् ।
बुबा–आमाले मजदुरी गरेर कमाएको पैसाले ममता र उनका भाइ सञ्जय हेमरम पढिरहेका छन् । सञ्जय पनि वीरेन्द्र माविमा कक्षा–१२ मा पढ्दैछन् ।
ममता अहिले पढाईमा मात्र सिमित छिनन् । वडा नम्बर १५ कै कालिका मावि र स्थानीयको जग्गा लिजमा लिएर तरकारी र फलफुल खेती गर्दै गरेको नेपाली बाबु स्मार्ट कृषि फार्ममा बेला बेला ज्यालादारीमा काम पनि गर्छिन् । उक्त फार्म मेचीनगर–१० का समाजसेवी लीला खनाल, रामहरि नेपाल, हरि नेपालको हो ।
ममताको परिचय त्यतिमा मात्र सिमित छैन । उनी कलेज छुट्टी भएपछि कोरियन भाषा सिक्न बिर्तामोड स्थित बिर्तामोड एजुकेशन फाउण्डेशन पनि धाउँछिन् ।
उनले कोरियन भाषा सिक्न बिर्तामोड धाएको एक महिना भएको बताइन् । अबको ८ महिनामा कोर्ष सकिने उनको भनाई छ ।
गरिव परिवारकी उनलाई कोरियन भाषा सिकेर के गछौँ भन्ने प्रश्नमा उनले भनिन्–‘पहिलैदेखि विदेश पढ्न जाने इच्छा थियो । उतै पढ्ने, उतै कमाउने सोच रहेकोले कोरियन भाषा सिकेको हुँ ।’
कोरियन भाषा सिकेर पास गरिन भने कोरिया जान उनलाई फार्मका सञ्चालकहरुले सहयोग गर्ने बचन दिएका छन् ।सञ्चालक खनालले सन्थाल समुदायकी इमानदार र मेहनती ममता (नानी) लाई विदेश जाने भइन् भने फार्मले सक्ने सहयोग गर्ने बताए ।
फोटो÷शव्द : अर्जुन कार्की
Discussion about this post