बिर्तामोड, २० बैशाख । लामाे समयदेखि झापामा निश्कृय रहेकाे वाईसिएल फेरि व्युँतिएकाे छ ।
आज बिर्तामोडमा नेकपा माओवादी केन्द्रले आयोजना गरेकाे पत्रकार सम्मेलनमा वाईसिएल झापालाई नयाँ शिराबाट गठन गरेर जनता माझ जाने जानकारी गराइएकाे हाे ।
केन्द्रका झापा अध्यक्ष राजु आचार्य (अग्नी) ले पार्टीकाे सुदृढीकरण र सुदृीकरण अभियान अन्तरगत लामाे समयदेखि शिथिल बन्दै गएकाे वाईसिएललाई जीवन्त राख्न नयाँ शिराबाट गठन गर्न लागिएको दावी गरेका छन् ।
´पार्टीको कमजाेरीका कारण वाईसिएललाई मुभिलाइज गर्न सकिएन` अग्नीले भने – ´२०७४ सालमा एमालेसँग । २०७९ मा कांग्रेससँग सहकार्य गर्याे । त्याे गल्ती थियाे । सर्वहारा वर्गका लागि जनयुद्व लडेर आएको पार्टीले कसैसँग सहकार्य गर्न पर्दैन । जनतामाझ एक्लै जानू पर्छ । चुनाव एक्लै लड्नु पर्छ । त्यसैका लागि वाईसिएललाई पुनर्गठित गर्न लागेका छाैँ ।`
जनतालाई राजनीतिक विचाैलियाहरूले कब्जामा लिएकाले बाध्य भएर वाईसिएललाई व्युँताएकाे उनकाे भनाई छ ।
कार्यक्रममा पार्टीका अर्का नेता झापा क्षेत्र नम्बर ३ का इन्चार्ज डिल्लीराम घिमिरे (हिक्मत)ले युगान्तकारी परिवर्तनलाई संस्थागत गर्न वाईसिएलकाे खाँचाे रहेकाेले संगठनलाई सकृय गरिने बताए ।
वाईसिएलकाे यही शनिबार बिर्तामोड स्थित सिटी सेन्टरमा छैठौं जिल्ला भेला हुने भएको छ । १७ सय सदस्य सहभागी हुने भेलामा ५३ जनाकाे नयाँ कमिटी गठन हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा वाईसिएलका संस्थापकहरूलाई समेत सम्मान गरिने भएको छ । संगठनले खुल्ला नित्य प्रतियोगितामा चुनिएका ५ जना कलाकारहरूलाई पुरस्कार प्रदान गिरने वाईसिएल झापाका संयाेजक राजु दर्नालले जानकारी दिए ।
भेलाको उद्घाटन पार्टीका उपमहासचिव एवम् कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले गर्ने भएका छन् ।
पत्रकार सम्मेलनमा वाइसिएलका केन्द्रीय सदस्य शिवराज घिमिरे, डेभिड शाही, प्रेम ल्वागुन, कोशी प्रदेश इन्चार्ज कर्मा पुलामी मगर, कोशी प्रदेश संयोजक कुमार आचार्य, सदस्य हिमाल शर्मा, बिनोद मण्डल लगायतको उपस्थिति रहेको थियो ।
पत्रकार सम्मेलनकाे सहजीकरण प्रेस सेन्टर नेपालका झापा सचिव पुष्प खड्काले गरेका थिए ।
Discussion about this post