भद्रपुर, २६ बैशाख । आमाको मुख हेर्ने पर्व अर्थात मातातीर्थ औंसीको अवसरमा ओमसाई पाथिभरा हस्पिटल भद्रपुरले चार सयभन्दा बढी वृद्धा आमाहरुलाई सम्मान गरेको छ ।
भद्रपुर–८ स्थित हस्पिटलका अध्यक्ष दिपक पोखरेलको घरमा सम्मान ग्रहणका लागि विभिन्न क्षेत्रबाट आएका आमाहरुको भिडले रौनक थपिएको थियो ।
हस्पिटलका अध्यक्ष पोखरेल र प्रबन्ध निर्देशक बालकुमार पोखरेल (साईराम) लगायतले आमाहरुलाई साडी र नगदसहित भोजन गराएका थिए ।
हस्पिटलले आमाको मुख हेर्ने पर्वका दिन यसरी ज्येष्ठ महिलाहरुलाई ठूलो संख्यामा सम्मान गरेको यो तेस्रो पटक भएको अध्यक्ष दिपक पोखरेलले जानकारी दिए ।
‘आमाभन्दा ठूलो यस धर्तीमा कोही पनि छैन’, अध्यक्ष पोखरेलले भने–‘आज समाजमा कैयन बाबुआमाहरु बुढेसकालमा अपहेलित र एक्लो जीवन बिताउन बाध्य छन् । हामीले सबै आमाहरुलाई एकैठाउँमा भेला गराएर सम्मान दिदा उहाँहरु खुशी हुन्छन् भनेर यस्तो कार्यक्रमको सोच बनाएका हौं ।’
सम्मानित आमाहरुलाई घरबाट ल्याउने र पुर्याउने गाडीको समेत व्यवस्था गरिएको हस्पिटलका प्रबन्ध निर्देशक साईरामले बताए ।
कार्यक्रममा आमाहरुको निःशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको थियो भने हस्पिटलका डाक्टर, नर्स र कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।




Discussion about this post