बिर्तामोड, २७ बैशाख । मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका चार जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
बिर्तामोडको दुई वटा बैंकमा ढुंगा हानेको आरोपमा पक्राउ पर्नेहरुमा बिर्तामोड–३ का २७ वर्षीय मनकुमार तामाङ, बुद्धशान्ति–४ का १६ वर्षीय दिपेश राई, बिर्तामोड–४ का १८ वर्षीय पवन दुलाल र बिर्तामोड–५ का ३४ वर्षीय अन्जेश राई रहेका छन् ।
उनीहरु प्रसाईको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको युवा संगठन नागरिक युवा दस्ताका कार्यकर्ता रहेको प्रहरीको दावी छ ।
विहीबार दिउँसो दस्ताले बिर्तामोडको सिटी सेन्टरबाट बैंक तथा वित्तीय संस्थाको ज्यादतिविरुद्ध र्याली निकालेको थियो । र्यालीको अगुवाई दस्ताका जिल्ला संयोजक भीम तुम्बाहाम्फेले गरेको बताइएको छ ।
र्यालीका सहभागीले बिर्तामोड–५ स्थित एभरेस्ट बैंक र ज्योति विकास बैंकको कार्यालयमा ढुंगा हानेको प्रहरीको आरोप छ । ढुंगा हान्ने ४ जनालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका चारै जना इप्रका अनारमनीमा छन् । ढुंगाले लागेर दुबै बैंकको भवनका सिसाहरु फुटेको प्रहरीेले बताएको छ ।
Discussion about this post