बिर्तामोड, २८ बैशाख । स्त्रीरोग तथा क्यान्सर विशेषज्ञ डा.ज्योति भजु लामाले सुत्केरीका बेला भारी काम गरे, धेरै बच्चा जन्माए, चुरोट धेरै सेवन गरे, सानै उमेरमा विहे गरे पाठेघर (आङ) खस्ने समस्या हुने गरेको बताएकी छन् ।
हेल्थ नेपाल मिडियाले विहीबार विर्तामोडको होटल हेवनमा आयोजना गरेको पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा सहजीकरण गर्दै डा. भजुले नेपालमा करिव २० प्रतिशत महिलामा पाठेघर खस्ने समस्या रहेको बताइन् । डा.भजुले आङ खस्ने समस्या भएका महिलाको बेलैमा उपचार गर्न सके शल्यक्रिया गरेर पाठेघर फाल्नु नपर्ने दावी गरिन् ।
पूर्वाञ्चल क्यान्सर अस्पतालमा कार्यरत क्यान्सर विशेषज्ञ समेत रहेकी डा. भजुले आङ खस्ने समस्या भएका महिलाले जतिसक्दो चाँडो उपचार गर्नु पर्दछ । उनका अनुसार बेलैमा उपचार गर्दा पाठेघर फाल्नु पर्दैन, औषधि उपचारबाटै रोग जाति हुनेछ ।
उनले धेरै सन्तान जन्माउने, सानो उमेरमा विहे गर्ने, सुत्केरीका बेला भारी काम गर्ने, कब्जियत हुने र धेरै सुर्ती सेवन गर्ने महिलालाई पाठेघर खस्ने समस्या हुने गरेको दावी गरिन् ।
‘धेरै महिलाले रोग लुकाएर बस्ने बानीले घाउ पाकेर अल्सर हुने गरेको छ’, डा. भजुले भनिन्–‘पहिलो स्टेजमै समस्या थाहा भएमा फिजियोथेरापी र अरु स्टेजका विरामीलाई सिलिकन रिङ लगाएर तथा शल्यक्रिया गरेर समस्याको समाधान हुन्छ ।’
पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र अन्य क्यान्सरबाट जोगिन ९ वर्षदेखि १४ वर्षका किशोरीहरुलाई २ डोज भ्याक्सिन लगाउनु पर्दछ भने १५ वर्षदेखि माथि २६ वर्ष उमेर समुहका महिलाहरुलाई ३ डोज भ्याक्सिन लगाउन आवश्यक रहेको डा. भजुको भनाई छ ।
कार्यक्रममा हेल्थ आवाज अनलाइन डटकमका सम्पादक भिषा काफ्लेले प्रजनन् स्वास्थ्य सम्बन्धी संबैधानिक व्यवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले महिलाहरुलाई सुरक्षित प्रजनन् हकका लागि नेपाली नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने व्यवस्था रहेको बताए ।
उनका अनुसार कसैलाई पनि स्वास्थ्य उपचारमा बन्चित गरेमा ६ महिना कैद र ५० हजार जरिवाना हुने वा दुबै सजाय समेत हुने कानूनी व्यवस्था गरिएको छ ।
Discussion about this post