बिर्तामोड, ४ जेठ । बिर्तामोडको बीएण्डसी मेडिकल टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा सरकारले ल्याएको विपन्न नागरिक औषधि कोष कार्यक्रम लागू भएको छ ।
अब उक्त कार्यक्रम अन्तरगत सरकारले दिएको एक लाख रुपैयाँको विरामीहरुले हेड तथा स्पाइनल इन्जुरी सम्बन्धी सेवा लिन सक्ने छन् । नेपाल सरकारबाट सञ्चालित उक्त कार्यक्रम बीएण्डसी अस्पतालले शुक्रवारदेखि लागू गरेको जानकारी गराएको हो ।
आज अस्पतालका न्यूरो विभागका प्रमुख डा.करुणा ताम्राकार, अर्थोपेडिक्स विभागका प्रमुख डा.निराजन पराजुली, जनसम्पर्क अधिकारी प्रमिश गिरीले विपन्न नागरिक औषधि कोष अन्तरगतको सेवाका बारेमा पत्रकारहरुलाई जानकारी गराएका थिए ।
विशेष गरेर दुर्घटनाबाट घाइते भइ हेड तथा स्पाइनल इन्जुरी भएका विरामीहरुलाई उक्त सेवा दिइने बताइएको छ । उक्त सेवा पाउनका लागि डाक्टरले विरामीको सुचीकृत गरेर रोग बारेको प्रमाणपत्र जारी गरेपछि आफ्नो स्थानीय तहको स्वास्थ्य शाखा, प्रमुख प्रशासकीय अधिकृत, स्थानीय तहका प्रमुखको रहेको समितिको सिफारिस चाहिने छ । उक्त सेवाका लागि नेपाली नागरिक हुनु पर्नेछ ।
उक्त कार्यक्रममा एकलाख भन्दा कम उपचार खर्च भए त्यो विरामीकै रहने र बढी भए खर्च ब्यहोर्नु पर्ने गिरीको भनाई छ । तत्काल सबै डकुमेन्ट नचाहिने तर उपचार गरेपछि सिफारिस आवश्यक पर्नेछ ।
पत्रकार सम्मेलनमा अस्पतालकी सञ्चालक डा.अञ्जली कार्की प्रसाई, पूर्वाञ्चल क्यान्सर हस्पिटलका मेडिकल सुपरिन्टेन्डेन्ट डा.वीरेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post