बिर्तामोड, ४ जेठ । यही जेठ ६ गतेदेखि बिर्तामोडको बसपार्क छेउमा चलचित्र महोत्सव हुन लागेको छ ।
कोशी प्रदेशमै पहिलो पटक बिर्तामोडमा चलचित्र महोत्सव हुन लागेको हो ।
कोशी प्रदेशको कला, संस्कृति तथा मनमोहक स्थलहरु समेटिएर बनाइएका चलचित्रहरुको प्रमोट गर्ने उदेश्यले उक्त महोत्सवको आयोजना गरिएको नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशका अध्यक्ष केवल तामाङले जानकारी दिएका हुन् ।
आज बिर्तामोडमा नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशले पत्रकार सम्मेलन गरेर महोत्सव बारे जानकारी गराइएको हो । महोत्सव आइतबारदेखि ११ गतेसम्म हुने बताइएको छ ।
चलचित्रले प्रदेशलाई पर्यटनसँग जोडेर बजारीकरण गर्न सके आर्थिक रुपमा मजबुत हुने विश्वास लिएको छ ।
महोत्सवको उद्रघाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने छन् । महोत्सवभरि विभिन्न जातिय, समुदायका सांस्कृतिक, झाँकी तथा कलाकारहरुको उत्कृष्ट प्रदर्शन रहने छ । चलचित्र महोत्सवको समापन भने विराटनगरमा हुनेछ ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष केवल तामाङ, याकथुङ चुमलुङ चलचित्रका संघका अध्यक्ष नबिन मेयाङ्वो, तामाङ चलचित्र संघका अध्यक्ष भीम लामा लगायतले महोत्सवका बारेमा जानकारी गराएका थिए ।
कोशी प्रदेशभरि चालिस प्रतिशत छायङ्कन भएका विभिन्न भाषाका चलचित्र प्रदर्शन गरिने समेत बताइएको छ ।
कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय विराटनगरको आयोजना, नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशको ब्यवस्थापन तथा चलचित्र पत्रकार संघ झापाको संयोजनमा महोत्सव हुन लागेको हो । कार्यक्रमको सञ्चालन महासचिव रमेश तिवारीले गरेका थिए ।
Discussion about this post