मेचीनगर, १० जेठ । पछिल्लो समय मेचीनगरमा बढ्दो आत्महत्यालाई मध्येनजर गर्दै त्यसको न्यूनीकरणका लागि पहल गर्न मेचीनगर नगरपालिकालाई स्थानीयवासीले आग्रह गरेका छन् ।
काँकरभिट्टाको मेची सामुदायिक भवनको हलमा आज आत्महत्या न्यूनीकरण सम्बन्धी आयोजित अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले नगरमा आत्महत्याका घटनामा वृद्धि भएको र बालबालिका समेत यसको शिकार हुन थालेकोमा चिन्ता व्यक्त गरेका हुन् ।
स्थानीयवासीले यसको रोकथाम तथा न्यूनीकरणका लागि नगरपालिकाले चाँडै कदम चाल्नु पर्ने लगायतका सुझाव राखेका छन् ।
सामाजिक अभियन्ता देवेन्द्रकुमार खरेलको पहलमा आयोजित भेलाले खरेलकै संयोजकत्वमा मेचीनगर सामुदायिक मानसिक स्वास्थ्य सरोकार समिति गठन गरेको छ ।
समितिले नगरपालिकाको नेतृत्वसँग आत्महत्या रोकथाम तथा न्यूनीकरणका बारेमा आवश्यक छलफल गर्ने योजना बनाएको छ । भेलाले मेचीनगरमा परिवार, अभिभावक र विद्यार्थी लक्षित सेचतनामूलक अभियान सञ्चालन गरिने निष्कर्ष समेत छ ।
मेचीनगर सञ्चार प्रतिष्ठानका अध्यक्ष शिशिर चम्लागाईले एक वर्षमा मेचीनगरमा ६१ जनाले आत्महत्या गरेको बताउनुभयो । जसमध्ये ११ जना बालबालिका रहेका छन् ।
कार्यक्रममा मेचीनगर कार्यपालिका सदस्य अन्जु थापा, सहकारी अभियन्ता रामचन्द्र उप्रेती, पत्रकार मोहन काजी र जीएन शर्मा, बाल अधिकारकर्मी मणिकुमार सुब्बा, दीपा खरेल, कृष्ण सुबेदी, जितबहादुर सुब्बा, पुष्कर ढकाल लगायतले समस्या र समाधानका विषयमा सुझाव राखेका थिए ।
Discussion about this post