मेचीनगर, १० जेठ । स्व.सञ्जोगहाङ राईको स्मृतिमा एकदिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
उक्त शिविर मेचीनगर–५ स्थित घैलाडुब्बा शिवालय मन्दिर परिसरमा हुने आज प्रेस क्लव मेचीनगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
साङपाङ राई परिवारको आयोजनामा जेठ १२ गते शनिवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
बिर्तामोड स्थित बिर्तासिटी अस्पतालको प्राविधिक सहयोग रहने छ । शिविरमा अस्पतालले जनरल मेडिसिन, स्त्री तथा प्रसुती सेवा, स्नायु तथा नशा रोग, हार्ड जोर्नी सेवा, नाक, कान, घाँटी सेवा, दन्त रोग सेवा तथा बाल रोग सम्बन्धी विषेशज्ञ सेवा प्रदान गर्ने आयोजकले जनाएको छ । स्वास्थ्य परीक्षणपछि आवश्यक औषधि समेत निःशुल्क प्रदान गर्ने छ ।
शिविरको उद्घाटन गर्न कोशी प्रदेशकी वन, पर्यटन तथा वातावरण राज्यमन्त्री बन्दना झाँगड आउने भएकी छन् । राज्यमन्त्री झाँगडले घैलाडुब्बा मन्दिर र पातालगंगाको निरीक्षण समेत आयोजकको भनाई छ ।
पत्रकार सम्मेलनमा पाँच लाख रुपैयाँको स्व.सञ्जुहाङ स्मृति अक्षयकोषको समेत घोषणा गरेका छन् । अक्षयकोषबाट प्राप्त ब्याजले वर्षेनी शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर खर्च गरिने जनाएको छ ।
स्व.सञ्जुहाङका पिता सुवास राईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा स्वास्थ्य शिविरका सहयोगी संस्था घैलाडुब्बा शिवालय मन्दिरका उपाध्यक्ष जीवन तामाङ, सचिव निरज खालिङ राई, सदस्य किरण पोखरेल, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सहजीकरण पत्रकार किशोर उपरकोटीले गरेका थिए ।
Discussion about this post