मेचीनगर, १३ जेठ । झापामा गर्मी अत्यधिक बढेपछि मेचीनगरका विद्यालयको पठनपाठन एकदिनलाई स्थगित गरिएको छ ।
मेचीनगरमा अत्यधिक गर्मीका बढेपछि विद्यालयमा पठनपाठनमा समस्या भएपछि सोमबार एक दिनलाई बिदा दिने निर्णय गरिएको मेचीनगरका शिक्षा शाखा प्रमुख उपसचिव होमनाथ भण्डारीले जानकारी दिए ।
‘मौसमको अवस्था हेरेर एक दिनलाई बिदा दिइएको छ’, भण्डारीले भने– ‘मंगलबार पनि बिदा नै छ । अवस्था सामान्य भए बुधबारबाट नियमित पढाई हुनेछ ।’
भण्डारीका अनुसार हाललाई दिइएको बिदा आउँदो बर्खे बिदाबाट कट्टी गरिने छ । गतवर्ष पनि अत्यधिक गर्मीका कारण नगरले ६ दिन विद्यालय बिदा दिएको थियो ।
पठनपाठन स्थगित गरिए पनि परीक्षा लगायतका पूर्व निर्धारित कार्यक्रमहरु सूचारु रहने उनको भनाई छ । झापामा गर्मीकै कारण २ जनाको मृत्यु भएको दावी छ । हाल झापाको तापक्रम ४१ डिग्री सेल्सियस भन्दा बढी छ ।
Discussion about this post