मेचीनगर, २३ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको यहि जेठ २६ गते हुने निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट लोकतान्त्रिक प्रगतीशिल साझा प्यानल खडा गरी रोहित बुढाथोकीको नेतृत्वमा चुनावी मैदानमा छ । अध्यक्षका उम्मेद्वार बुढाथोकीसँगको कुराकानी ।
तपाईले खानेपानी चुनावलाई कसरी लिनु भएको छ ?
खानेपानीको चुनाव स्वभाविक प्रक्रिया हो । यो सामाजिक कार्य गर्ने एउटा महत्वपूर्ण ठाउँ हो । संस्थालाई बुझेको र संस्था हाक्न सक्ने व्यक्ति त्यहाँ पुग्न आवश्यक छ । हाम्रो टिम एकताबद्ध भएर मतदाताको घर दैलोमा पुगीरहेको छ । पार्टीभन्दा माथि उठेर काम गर्नेछौं ।
खानेपानीका चुनौतिहरु के छन् ?
पुरानो संस्था भएपनि क्षेत्र विस्तार हुँदै ७ वटा वडामा पुगेको छ । ट्याङ्कीहरु विस्तार भएका छन् । तर, धेरै उपभोक्ता खानेपानीबाट बन्चित छन् । विपन्न परिवारलाई समेत खानेपानी उपलब्ध गराउनु पर्ने दायित्व छ ।
बारम्बार कालोपानी आउने समस्या छ । त्यसको दिगो समाधान खोज्नु छ । यतिखेर सडक विस्तारको क्रममा छ । सडक विस्तार गर्दा धेरै पाइपहरु काटिने फुट्ने सम्भावना छ । यी सबैखाले चुनौतिलाई समाधान गरेर अघि बढ्नेछौं ।
तपाईंका चुनावी एजेण्डा के छन् ?
स्वच्छ र सर्वसुलभ खानेपानीको निरन्तरता हाम्रो प्रतिबद्धता हो । स्वस्थ जीवन जिउन स्वच्छ खानेपानी वितरण गर्नेछौं । संस्थामा लामो समयदेखि ऋण भार बढी रहेको छ । त्यसलाई समेत विभिन्न श्रोतको खोजीगरी ऋण भार घटाउने छौँ ।
तपाईंले प्रतिष्पर्धीलाई कसरी हेर्नु भएको छ ?
चुनाव स्वस्थ प्रतिष्पर्धाबाट हुनुपर्छ । सबै प्रतिष्पर्धी साथिभाइहरु चुनावी मैदानमा हुनुहुन्छ । उहाँहरु सबैले मलाई सम्मान गर्नु हुन्छ । मलाई आदर गर्नु हुन्छ । म उहाँहरुलाई सम्मान गर्छु ।
खानेपानीलाई मेचीनगरले प्राधिकरण बनाउने कुरा के हो ?
खासगरी यो राज्य पक्षले नै गर्ने काम हो । स्थानीय सरकारले सम्पूर्ण नगरवासीलाई सर्वसुलभ ढंगबाट स्वच्छ खानेपानी उपलब्ध गराउन सके राम्रै सन्देश जाला । तर, राज्य पक्षले यो काम गर्न सक्ने अवस्था देखिँदैन ।
सरकारको स्वामित्वमा आएपछि ढिलासुस्ती हुन सक्छ । यो विषयलाई बुझेर स्थानीय सरकारले प्राधिकरणमार्फत प्रभावकारी सेवा दिने आँट गरेर अघि बढ्यो भने पनि त्यसलाई सहज रुपमा लिनुपर्छ । तर, सेवा प्रभावकारी हुनुपर्छ । सम्पूर्ण नगरबासी सर्वसुलभ ढंगले पानी खान पाउनु पर्छ ।
अन्त्यमा ?
मिठा र चिप्ला भाषणकला मैले जानेको छैन । तर, म जे कामका लागि अघि बढ्छु त्यो काम पुरा गर्ने बानी छ । तपाईंहरुको एक–एक मतको सम्मान गर्नेछु । म लगायत हाम्रो टिमलाई उपभोक्ताले बुझ्नु भएकै होला ।
(मेची आवाज साप्ताहिकबाट)
Discussion about this post